नियम १४
मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
(१) अध्यादेश तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः– (क) निर्वाचन सम्बन्धी तालीम तथा अभिमूखिकरण कार्यक्रममा भाग लिने, (ख) निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइएका मतपत्र लगायतका मतदान केन्द्र सम्बन्धी निर्वाचन सामग्री रुजु गरी बुझी लिने, (ग) आफूलाई तोकिएको मतदान केन्द्रमा खटाईएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने, (घ) आफूलाई तोकिएको मतदान केन्द्रमा तोकिएको समयभित्र पुगी आयोगद्वारा निर्धारित तरिकाले मतदान केन्द्र निर्माण गर्ने, (ङ) सुरक्षा, भौगोलिक कठिनाइ तथा अन्य कुनै मनासिब कारणले तोकिएको मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन नसकिने भई तत्काल अर्को मतदान केन्द्र स्थापना गर्नुपर्ने अवस्था भएमा त्यसको जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई गराउने, (च) मतदान कार्यलाई सहज तरिकाले सम्पन्न गर्न दल तथा उम्मेदवारका स्थानीय प्रतिनिधिसँग समन्वय गर्ने, (छ) मतदान कार्यलाई सुचारु रुपले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुगमन गर्ने, (ज) मतदानको दिन मतदानको गतिविधि सम्बन्धमा समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने, (झ) मतदानको दिन मतदान केन्द्रमा आउने पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता र सुरक्षाकर्मीलाई मतदान कार्यको अवस्थाबारे जानकारी दिने, (ञ) मतदान केन्द्रमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा मतदान कार्य सम्पन्न गराउने, (ट) आचार संहिता सम्बन्धमा देहाय बमोजिम गर्ने ः- (१) आचार संहिता पालना गर्नु पर्ने कर्तव्य भएका दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न लगाउने, (२) आवश्यकता अनुसार स्थानीय तह, स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको सहयोग लिई आचार संहिता उल्लङ्घन हुन नदिने, (३) कसैले निर्वाचन आचार संहिता उल्लङ्घन गरेको देखिए, बुझिए वा सुनिएमा त्यस्तो कार्य तुरुन्त रोक्न लगाउने, (४) निर्वाचन आचार संहिता उल्लङ्घन भएको सम्बन्धमा गरेको कारबाहीको जानकारी निर्वाचन अधिकृतको कार्यालयमा तुरुन्त दिने । (ठ) निर्वाचन पर्यवेक्षणको सम्बन्धमा देहाय बमोजिम गर्ने ः- (१) निर्वाचनको लागि आयोग वा निर्वाचन अधिकृतको कार्यालयबाट पर्यवेक्षण गर्न अनुमति प्राप्त गरेका पर्यवेक्षक आफू खटिएको मतदान केन्द्रमा निर्वाचन पर्यवेक्षण गर्न आएमा आवश्यक सहयोग गर्ने, गराउने, (२) पर्यवेक्षकलाई निर्वाचनको पर्यवेक्षण गर्न दिँदा मतदान भइरहेको समयमा मतपत्र, मतदाता नामावली, मतसङ्केत गर्न प्रयोग गरिने कलम तथा मतपेटिका जस्ता मतदान सामग्री छुन वा मतदान कक्षमा प्रवेश गरी मतदाताले मतसङ्केत गरी रहेको अवस्थामा हेर्न नदिने, तर मतदाताले आफ्नो मत जाहेर गरी सकेपछि मतपेटिकामा मतपत्र खसाल्दाको दृश्य भने पर्यवेक्षकलाई टाढाबाट हेर्न दिन   सकिनेछ । (ड) मतदान कार्य समाप्त भएपछि आयोगद्वारा स्वीकृत निर्देशिका बमोजिम मुचुल्का गराई मतपेटिका तथा अन्य निर्वाचन सामग्री आवश्यकता अनुसार सिल गरी सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउने, (ढ) निर्वाचन अधिकृतले अधिकार प्रत्यायोजन गरे बमोजिमका अन्य काम गर्ने, (ण) प्रचलित कानूनी व्यवस्था र आयोगले समय–समयमा दिएका आदेश वा निर्देशनहरूको अधीनमा रही मतदान कार्य सम्पन्न गर्ने, गराउने । (२) मतदान अधिकृतको प्रत्यक्ष निर्देशनमा रही मतदान कार्य सम्पन्न गर्न, गराउन मतदान अधिकृतलाई सहयोग गर्नु सहायक मतदान अधिकृतको कर्तव्य हुनेछ । (३) काबु बाहिरको परिस्थिति पर्न गई मतदान अधिकृतले मतदान कार्य गराउन नसक्ने भएमा सहायक मतदान अधिकृतले अध्यादेश तथा यस नियमावली बमोजिम मतदान अधिकृतले गर्नुपर्ने भनी तोकिएका सम्पूर्ण काम कारबाही सम्पन्न गर्नु पर्नेछ । (४) उपनियम (३) बमोजिम मतदान अधिकृतले कार्य सम्पादन गर्न नसकेमा सोको जानकारी मतदान अधिकृत वा सहायक मतदान अधिकृतले तत्काल निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।