नियम ३१
मतदान गर्ने तरीका
(१) मतदाताले मतपत्र लिएपछि मतसङ्केत गर्ने गोप्य स्थानमा गई आफूले रोजेको कुनै एक उम्मेदवारको नाम रहेको कोठामा स्वस्तिक ( ) चिन्ह लगाई मतसङ्केत गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतसङ्केत गरेपछि सो मतसङ्केत गरेको चिन्ह नदेखिने गरी मतपत्र पट्याई आयोगले तोकेबमोजिमको मतपेटिका भित्र खसाल्नु पर्नेछ ।
(३) मतसङ्केत गर्ने गोप्य स्थानमा एक पटकमा एकजना मतदातालाई मात्र प्रवेश गर्न दिइनेछ ।
(४) कुनै मतदाता मतसङ्केत गर्ने गोप्य स्थानमा मतपत्रमा मतसङ्केत गर्ने र मतपत्र पट्याउन लाग्ने समयभन्दा बढी समयसम्म बसेको छ भन्ने मतदान अधिकृतलाई लागेमा निजले सो गोप्य स्थानको निरीक्षण गर्न र त्यहाँ रहेको मतदातालाई बाहिर पठाउन सक्नेछ ।
(५) कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम कसैले मतदान नगरी मतपत्र फिर्ता गरेमा मतदान अधिकृतले सोको अभिलेख राखी त्यस्तो मतपत्र छुट्टै खामबन्दी गरी राख्नु पर्नेछ ।