नियम ३२
मतदान गर्ने तरीका
(१) मतदाताले मतपत्र लिएपछि मतसङ्केत गर्ने गोप्य स्थानमा गई अध्यादेशको दफा ३ बमोजिमको सम्बन्धित समूहबाट निर्वाचित गर्नु पर्ने सङ्ख्यामा नबढ्ने गरी पहिलो प्राथमिकता दिएको उम्मेदवारको नाम तथा निर्वाचन चिन्ह सँगै रहेको मतसङ्केत गर्ने कोठामा “१”, दोस्रो प्राथमिकता दिएको उम्मेदवारको नाम तथा निर्वाचन चिन्ह सँगै रहेको मतसङ्केत गर्ने कोठामा “२” तथा तेस्रो प्राथमिकता दिएको उम्मेदवारको नाम तथा निर्वाचन चिन्ह सँगै रहेको मतसङ्केत गर्ने कोठामा “३” अङ्क लेखी मतसङ्केत गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यादेशको दफा ३ बमोजिमको कुनै समूहबाट एकजना सदस्य मात्र निर्वाचित गर्नुपर्ने अवस्थामा मतदाताले आपूmले रोजेको कुनै एकजना उम्मेदवारको नाम तथा निर्वाचन चिन्हसँगै रहेको मतसङ्केत गर्ने कोठामा रेजा ( ) चिन्ह लगाई मतसङ्केत गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम मतसङ्केत गरेपछि सो मतसङ्केत नदेखिने गरी मतपत्र पट्याई आयोगले तोकेको मतपेटिकाभित्र खसाल्नु पर्नेछ ।
(४) मतसङ्केत गर्ने गोप्य स्थानमा एक पटकमा एकजना मतदातालाई मात्र प्रवेश गर्न दिइनेछ ।
(५) कुनै मतदाता मतसङ्केत गर्ने गोप्य स्थानमा मतपत्रमा मतसङ्केत गर्ने र मतपत्र पट्याउन लाग्ने समयभन्दा बढी समयसम्म बसेको छ भन्ने मतदान अधिकृतलाई लागेमा निजले सो गोप्य स्थानको निरीक्षण गर्न र त्यहाँ रहेको मतदातालाई बाहिर पठाउन सक्नेछ ।
(६) कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम कसैले मतदान नगरी मतपत्र फिर्ता गरेमा मतदान अधिकृतले सोको अभिलेख राखी त्यस्तो मतपत्र छुट्टै खामबन्दी गरी राख्नु पर्नेछ ।