दफा ३३
मतपत्र
: (१) आयोगले निर्वाचनका लागि उम्मेदवारको निर्वाचन चिन्ह भएको मतपत्रको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्दा देहायको क्रममा समावेश गर्नु पर्नेछ ः-
(क) निर्वाचन हुनु भन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिन्ह,
(ख) खण्ड (क) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएको क्रमको आधारमा सो दलको उम्मेदवारको निर्वाचन चिन्ह,
(ग) स्वतन्त्र उम्मेदवारको नामको वर्णानुक्रमको आधारमा त्यस्तो उम्मेदवारको निर्वाचन चिन्ह ।
(३) प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलहरु एकीकरण भएको वा गाभिएकोमा उपदफा (२) को खण्ड (क) को प्रयोजनको लागि त्यसरी एकीकरण हुनु वा गाभिनु अघि त्यस्ता दलहरुले प्राप्त गरेको कूल मत सङ्ख्यालाई हाल कायम भएको दलले प्राप्त गरेको मत सङ्ख्या मानिनेछ ।
(४) मतपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।