दफा १७
मध्यस्थले अपनाउने कार्यविधि
  (१) मध्यस्थले विवादको निर्णय गर्दा अपनाउनु पर्ने कार्यविधि सम्झौतामा उल्लेख भएकोमा सोही बमोजिम र त्यसरी उल्लेख नभएकोमा यस ऐन बमोजिम हुनेछ ।
तर यस ऐनमा व्यवस्था नभएको कार्यविधि पक्षहरुको सहमतिमा मध्यस्थले तोके बमोजिम र त्यस्तो सहमति नभएमा मध्यस्थ आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) मध्यस्थ समक्ष पेश हुनुपर्ने दावी, प्रतिवाद, प्रतिदावी वा प्रत्युक्ति पेश भइसकेपछि मध्यस्थले अविलम्ब मध्यस्थता सम्बन्धी काम कारबाही शुरु गर्नु पर्नेछ ।
(३) मध्यस्थता सम्बन्धी के कस्तो काम कारबाही कुन दिन र समयमा हुने हो त्यसको जानकारी पक्षहरुलाई दिनु पर्नेछ र सम्बन्धित मिसिलमा त्यसरी जानकारी दिएको अभिलेख राख्नु पर्नेछ ।
(४) तीनजना वा सो भन्दा बढी मध्यस्थ रहेको विवादमा निर्णय गर्ने वा अन्तिम आदेश दिने काम बाहेक मध्यस्थताको अन्य कारबाही उपस्थित मध्यस्थहरुबाट हुन सक्नेछ ।
(५) उपदफा (३) बमोजिम जानकारी पाएपछि कुनै पक्ष मध्यस्थताको कारबाही हुने दिन र समयमा उपस्थित नभए तापनि मध्यस्थले कारबाही जारी राख्न र उपलब्ध प्रमाणका आधारमा आफनो निर्णय दिन सक्नेछ ।
(६) मध्यस्थ समक्ष सुनुवाईको काम सकिए पछि मध्यस्थले सुनुवाईको कारबाही अन्त भएको आदेश गरी सो कुराको अभिलेख मिसिलमा राख्नु पर्नेछ र त्यसपछि पक्षबाट प्रमाणहरु बुझ्ने वा सुनुवाई गर्ने कार्य हुन सक्ने छैन ।
(७) सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (६) बमोजिम आदेश गरेको साधारणतः तीस दिनभित्र मध्यस्थले आफनो लिखित निर्णय सुनाउनु पर्नेछ ।