नियम १०७
मर्यादापालकको सेवाका शर्त

(१) मर्यादापालकको पदमा पहिलो पटक नियुक्ति गर्दा समितिले पाँच वर्षको अवधिको लागि नियुक्ति गर्नु पर्नेछ ।
(२) मर्यादापालक पदमा नियुक्त व्यक्ति ६० वर्ष पूरा भएमा वा निजको सेवा अवधि पूरा भएमा स्वतः पदमुक्त हुनेछ ।
(३) उपनियम (१) बमोजिम नियुक्त मर्यादापालकलाई निजको उमेर ६० वर्ष नपुगुन्जेलसम्म निजको कार्यकुशलता, शारिरीक अवस्था एवं कार्य दक्षतालाई समेत विचार गरी महासचिवको सिफारिसमा समितिले बढीमा दुई पटक सम्म पाँच।पाँच वर्षको म्याद थप गर्न सक्नेछ ।
(४) मर्यादापालक पदमा कार्यरत कुनै व्यक्तिले आफ्नोे पदावधि बाँकी छदै सेवाबाट अवकाश लिन चाहेमा निजले महासचिव समक्ष लिखित राजीनामा दिन सक्नेछ ।
(५) मर्यादापालक पदमा कार्यरत कुनै व्यक्तिले नियम १०९ मा उल्लिखित आचरण बराबर उल्लंघन गरेको कारण निजलाई अवकाश दिनु पर्ने भनी महासचिवले सिफारिस गरेमा वा नियम ११० बमोजिमको सजाय भएको अवस्थामा समितिले अवकाश दिन सक्नेछ ।
(६) मर्यादापालकहरूको सबै समय सचिवालयको अधीनमा हुनेछ र निजहरूलाई जुनसुकै समयमा पनि काममा लगाउन सकिनेछ ।