नियम १०८
मर्यादापालकले पाउने भत्ता, बिदा तथा सुविधा

(१) सचिवालयको दरबन्दीमा कार्यरत
मर्यादापालकले पाउने आवास भत्ता, शैक्षिक भत्ता र सुरक्षा भत्ता अनुसूची–१२ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) सचिवालयको दरबन्दीमा कार्यरत मर्यादापालकले अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा बाहेक सचिवालयमा कार्यरत अन्य कर्मचारीको लागि परिच्छेद–८ मा तोकिए बमोजिमका सबै बिदा र सुविधा पाउने छन् ।
(३) सचिवालयको दरबन्दीमा कार्यरत मर्यादापालकको प्रत्येक महिनाको तलबबाट दश प्रतिशतका दरले संचयकोष कट्टी गरिएको रकममा शतप्रतिशत थप गरी संचयकोषमा जम्मा गरिनेछ ।
(४) मर्यादापालकले व्यवस्थापिका—संसदको मर्यादापालन समूह अन्तर्गत नियुक्ति हुनु पूर्व सरकारी सेवाको कुनै पदमा गरेको स्थायी सेवा अवधिलाई बीचमा टुटेको भए सो अवधि कटाई हालको मर्यादापालकको सेवा अवधिमा जोडाई नोकरीवर्ष कायम गर्न
सक्नेछ ।
(५) सचिवालयको दरबन्दीमा कार्यरत मर्यादापालकले पाँचवर्ष वा सो भन्दा बढी अवधि सेवारत रही अवकाश भएकोमा सचिवालयका अन्य कर्मचारीहरूले परिच्छेद— ११ र १२ बमोजिम पाउने उपचार खर्च र उपदान वापतको रकम सेवा अवधिको आधारमा दामासाहीले पाउनेछ ।
(६) सचिवालयको दरबन्दीमा कार्यरत मर्यादापालकलाई वार्षिक दुईजोर पोशाक उपलव्ध गराइनेछ । तर काजमा आइ कार्यरत रहने मर्यादापालकहरूलाई वार्षिक एकजोर पोशाक उपलव्ध गराइनेछ ।
(७) सचिवालयको दरबन्दीमा कार्यरत मर्यादापालकलाई समेत नियम ११३ बमोजिमको पुरस्कारमा समावेश गर्न सकिनेछ ।
(८) सचिवालयको दरबन्दीमा कार्यरत मर्यादापालकले तत्काल आफ्नोे कर्तव्य पालनको सिलसिलामा गरेको कुनै उत्कृष्ट कार्यको कदर गर्न आवश्यक देखिएमा महासचिवले पुरस्कृत गर्नु पर्ने आधार र कारण खुलाइ बढीमा दश हजारसम्मको रकम र प्रशंसापत्रद्वारा पुरस्कृत गर्न सक्नेछ ।