नियम १३१
महानिर्देशकको काम, कर्तव्य र अधिकार
(१) महानिर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) निर्देशनालयको प्रमुखको रूपमा काम गर्ने,
(ख) निर्देशनालयको आर्थिक तथा प्रशासनिक प्रबन्ध गर्ने,
(ग) निर्देशनालयको वार्षिक कार्यक्रम बनाई कार्यान्वयन गर्ने,
(घ) फैसला कार्यान्वयनको सिलसिलामा कुनै द्बिविधा परी मातहतका अदालतबाट लेखी आएमा सो सम्बन्धमा कानून बमोजिम निकासा दिने,
(ङ)   मातहतका अदालतबाट झुठ्ठा विवरणका आधारमा वा प्रचलित कानून विपरीत लगत कट्टा भएको देखिएमा लगत पुनर्स्थापना गर्न निर्देशन दिने,
(च) फैसला कार्यान्वयनको सिलसिलामा तहसिलदार वा सो कार्यमा संलग्न कर्मचारीको बदनियत रहेको देखिन आएमा अख्तियारवाला समक्ष आवश्यक कारबाहीको लागि लेखी पठाउने,
(छ) केन्द्रीय लगत कट्टा समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ज) अदालतबाट तोकिएको अन्य कार्य गर्ने, गराउने ।
(२) उपनियम (१) बमोजिम आफूलाई प्राप्त केही अधिकार महानिर्देशकले आवश्यकता अनुसार निर्देशनालयका निर्देशकलार्ई प्रत्यायोजन गर्न सक्नेछ ।