प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि महालेखापरीक्षकले नेपालको संविधानको अधीनमा रही वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरु र सरकारी अनुदान प्राप्त गर्ने निकाय र कार्यक्रमको लेखापरीक्षण गर्ने वा लेखापरीक्षण सम्बन्धमा व्यवस्था मिलाउनको लागि सम्बन्धित सरकारी कार्यालय वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संगठित संस्था वा अन्य संस्थालाई समय समयमा निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
१०क.पुनरावलोकन गर्न नसकिने: यस ऐन बमोजिम सम्पन्न गरेको लेखापरीक्षण कार्यको समकक्षीय पेशागत पुनरावलोकन बाहेक अन्य कुनै व्यक्ति वा निकायबाट पुनरावलोकन गर्न सकिने छैन ।
१०ख.असल नियतले गरेको कामको लागि जिम्मेवार नहुनेः महालेखापरीक्षकले यस ऐन बमोजिम लेखापरीक्षणलाई व्यवस्थित गर्न जारी गरेको मानदण्ड, नीति, निर्देशन, निर्देशिका तथा लेखापरीक्षण योजना बमोजिम कर्तब्य पालनाको सिलसिलामा असल नियत साथ सम्पन्न गरेको लेखापरीक्षण कार्यबाट हुन गएको कुनै पनि क्षति वा अन्य कुनै प्रकारको त्रुटिको लागि महालेखा परीक्षककोे कार्यालयका कर्मचारीहरु व्यक्तिगतरुपमा जिम्मेवार हुने छैनन् ।
१०ग. मानदण्ड, नीति, निर्देशन र निर्देशिका जारी गर्न सक्ने: महालेखापरीक्षकले सरकारी तथा सार्वजनिक लेखापरीक्षणलाई वस्तुपरक, विश्वसनीय र भरपर्दो बनाई लेखापरीक्षणको गुणस्तर अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय लेखापरीक्षण मानदण्ड र प्रचलित असल अभ्यासमा आधारित लेखापरीक्षण मानदण्ड, नीति, निर्देशन र निर्देशिका बनाई लागू गर्न सक्नेछ ।
१०घ.अधिकार प्रत्यायोजन गर्न सक्नेः महालेखापरीक्षकले लेखापरीक्षण गर्ने, लेखापरीक्षण प्रतिवेदन जारी गर्ने, सम्परीक्षण गर्ने र आर्थिक विवरण उपर राय व्यक्त गर्ने सम्बन्धमा महालेखापरीक्षकको कार्यालयका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।