विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “सरकारी कार्यालय” भन्नाले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, संघीय संसद, प्रदेशसभा, प्रदेश सरकार, स्थानीय तह, संवैधानिक निकायको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत संघीय, प्रदेश तथा स्थानीय तहका सबै सरकारी कार्यालय र अदालत सम्झनु पर्छ ।
(ख) “लेखा” भन्नाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेतलाई जनाउँछ ।
(ख१) “लेखासँग सम्बन्धित कागजपत्र” भन्नाले सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व रहेको संस्था वा अन्य संस्थाको कार्यमूलक वा विविध विषयको लेखापरीक्षण गर्न आवश्यक पर्ने कागजपत्र सम्झनु पर्छ सो शब्दले सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व रहेको संस्था वा अन्य संस्थाको रणनीति, वार्षिक वा आवधिक योजना, कार्ययोजना, निर्णयहरु, सम्झौता वा समझदारीहरु, प्रगति प्रतिवेदनहरु, अनुगमन तथा मूल्यांकन प्रतिवेदनहरु र लेखा परीक्षणको कामसँग सम्बन्धित अन्य कागजपत्र, विवरण तथ्यांक वा सूचना समेतलाई जनाउँछ ।
(ग) “परीक्षण” भन्नाले लेखाको जाँच र त्यसको आधारमा गरिने मूल्यांकन तथा विश्लेषण सम्झनु पर्छ र सो शब्दले सम्परीक्षण गर्ने कार्य समेतलाई जनाउँछ ।
(घ) “नेपाल सरकारको पूर्ण स्वामित्व भएको सङ्गठित संस्था” भन्नाले सबै शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व भएको सङ्गठित संस्था वा सबै शेयर वा जायजेथामा त्यस्तो संस्थाको वा त्यस्तो संस्था र नेपाल सरकारको स्वामित्व भएको सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले पूर्ण उत्तरदायित्व व्यहोर्नु पर्ने सङ्गठित संस्था समेतलाई जनाउँछ ।
(ङ) “नेपाल सरकारको अधिकांश स्वामित्व भएको सङ्गठित संस्था” भन्नाले पचास प्रतिशत भन्दा बढी शेयर वा जायजेथामा नेपाल सरकारको स्वामित्व भएको सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले नेपाल सरकार वा नेपाल सरकारको अधिकांश स्वामित्व भएको संगठित संस्थाको जायजेथा समेत गरी पचास प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएको संस्था समेतलाई जनाउँछ ।
(च) “अन्य संस्था” भन्नाले प्रचलित कानून वा नेपाल सरकारको निर्णय बमोजिम स्थापना भएको परिषद्, विश्वविद्यालय, कोष, समिति, प्रतिष्ठान, आयोग सम्झनु पर्छ ।
(छ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ।