नियम ७९
मिलापत्र
(१) अदालतमा विचाराधीन रहेको मुद्दा मिलापत्र गर्न चाहेमा मिलापत्रको लागि पक्षहरूले जहिलेसुकै अदालतमा संयुक्त दरखास्त दिन सक्नेछन् ।
(२) मुद्दाका दुबै पक्ष मिली मिलापत्र गराई पाउँ भनी दरखास्त पर्न आएमा पक्षहरूलाई सो मितिभन्दा पछिको तारिख तोकिएको रहेछ भने पनि त्यसलाई अगाडि सारी मिलापत्र गराई दिन सकिनेछ ।
(३) कुनै मुद्दा दैनिक पेसी सूचीमा चढी  सुनुवाइ सुरू भई बहस, छलफल भइसकेपछि पनि मिलापत्र हुनसक्ने सम्भावना छ भन्ने लागेमा इजलासले मिलापत्र गर्न अर्को तारिख तोक्ने गरी आदेश गर्न सक्नेछ ।
(४) उपनियम (१) बमोजिम दरखास्त परी वा उपनियम (३) बमोजिम मिलापत्र गर्न आदेश भई मिलापत्र गराउँदा मुद्दाका पक्ष, निजहरूका कानून व्यवसायी भए कानून व्यवसायी र मुद्दाका पक्षहरूले आफूले पत्याएका व्यक्ति ल्याए निजलाई समेत राखी छलफल गराई दुवै पक्ष सहमत भए इजलासले  मिलापत्र गराई दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम छलफल गर्दा मुद्दाका पक्षहरू मिलापत्र गर्न सहमत हुन नसकेमा सोही बेहोराको आदेश गरी अर्को पेसी तोकी कानून बमोजिम फैसला गरि दिनु पर्नेछ ।