नियम १२
मुद्दा पेसी सूची
(१) छलफलको लागि न्यायाधिकरणमा अर्काे साताभरमा पेश हुने अङ्ग पुगेको मुद्दाहरुको  तयार गर्न लगाई हरेक       शुक्रबारका दिन स्रेस्तेदारले न्यायाधिकरणको सूचना पाटीमा राख्न लगाउनु पर्छ र त्यस्तो फिरिस्तलाई साप्ताहिक मुद्दा पेसी सूची भनिनेछ ।
(२) साप्ताहिक मुद्दा पेसी सूचीबाट मुद्दाहरु स्रेस्तेदारले दैनिक मुद्दा पेसी सूचीमा चढाई अध्यक्ष छेउ पेश गरी भोलिपल्ट ठीक १०.१५ बजे त्यसको एक प्रति सूचना पाटीमा राख्न लगाउनुपर्छ ।
(३) न्यायाधिकरणमा साधसोध गर्नु पर्ने विषय, पेश गर्नु पर्ने निवेदन, प्रतिवेदन र न्यायाधिकरणले आदेश गरेको अरु कुनै जरुरी विषय भएमा स्रेस्तेदारले सो समेत दैनिक मुद्दा पेसी सूचीमा चढाउनु पर्छ ।
(४) पेश भएको किनारा नलागेको मुद्दा वा न्यायाधिकरणबाट पेश गर्न कुनै खास दिन निश्चित गरिएको मुद्दा दैनिक मुद्दा पेसी सूचीमा सबभन्दा माथि राखिनेछ ।
(५) न्यायाधिकरणले अन्यथा आदेश दिएमा बाहेक दैनिक मुद्दा पेसी सूचीमा जुन क्रमले मुद्दा चढाईएको छ त्यसै क्रमले मुद्दा हेरिनेछ ।
(६) दैनिक मुद्दा पेसी सूचीमा चढेको कुनै पनि मुद्दामा कुनै पक्षले तारिख गुजारी थाम्न पाउने म्याद बा“की भएको भन्ने समेत कुनै कुराले पनि सो सूचीबाट हटाइने छैन र वकील, वारिस वा पक्ष हाजिर नभए पनि मुद्दा स्थगित गरिनेछैन ।
तर आफ्नो काबूभन्दा बाहिरको परिस्थितिले गर्दा पक्ष वारिस वा नियुक्त कानून व्यवसायी उपस्थित हुन नसकेको भन्ने कुरा मुद्दा पेश नहुँदै अनुरोध गरेमा न्यायाधिकरणले सो मुद्दा त्यस दिनलाई स्थगित राख्ने आदेश दिन सक्नेछ ।
(७) दैनिक मुद्दा पेसी सूचीमा चढी सकेपछि तारिख गुजारेको कारणबाट मुद्दा डिसमिस हुँदैन र ठहरेबमोजिम फैसला हुनेछ ।
(८) यो नियमावलीमा लेखिएका कुराहरुको अधीनमा रही दैनिक मुद्दा पेसी सूचीमा चढेको मुद्दा कुनै हालतमा पनि सो सूचीबाट हटाई पाउँ भन्ने वा कुनै मुद्दालाई कुनै दिनको मुद्दा पेसी सूचीमा नचढियोस् भन्ने निवेदनपत्र लाग्न सक्दैन ।
(९) साप्ताहिक मुद्दा पेसी सूचीमा चढेको मुद्दा दैनिक मुद्दा पेसी सूचीमा नचढ्दै कुनै मुद्दामा पक्ष वा निजको वारिस कानूनबमोजिम पक्राउ वा कानूनी कारबाईको सिलसिलामा परेको वा मृत्यु भएको वा आकस्मिक तवरबाट बिरामी परेको वा पारिवारिक क्षति भएको वा आफ्नो काबूभन्दा बाहिरको कुनै परिस्थितिमा परेको हुँदा मुद्दा पेश हुने दिन हाजिर हुन सक्दैन भन्ने सन्तोषप्रद कारण उल्लेख गरी निवेदनपत्र दिएमा त्यस मुद्दालाई दैनिक मुद्दा पेसी सूचीमा नचढाई अर्काे तारिख मुकर्रर गरिनेछ ।
(१०) उपनियम (९) बमोजिम मुद्दा स्थगित गर्ने बारेको निवेदनपत्र दुई पटकभन्दा बढी स्थगित हुने गरी मन्जुर गरिने छैन ।