नियम ९३
मृत्यु भएको न्यायाधीशको तर्फबाट फैसला वा आदेश तयार गर्ने
(१) नियम ८९ बमोजिम निर्णय सुनाएपछि फैसला लेख्न नपाउँदै निर्णय गर्ने न्यायाधीशको मृत्यु भएमा प्रधान न्यायाधीशले तोकेको कुनै न्यायाधीशले सो बेहोरा जनाई मृत्यु भएको न्यायाधीशले टिपोट किताबमा लेखेको निर्णयलाई नै फैसलाको रूपमा उतार गरी त्यस्तो फैसलामा दस्तखत गर्नु पर्नेछ ।
(२) दुई वा दुईभन्दा बढी न्यायाधीशहरूको इजलासबाट हेरिएको मुद्दामा उपनियम (१) बमोजिमको अवस्था पर्न आएमा सो इजलासमा बस्ने न्यायाधीशहरूको राय मिलेको फैसला भए सो मध्ये कुनै एउटा न्यायाधीशले आफ्नो दस्तखत गरी अर्को न्यायाधीशले दस्तखत गर्न नसक्नाको कारण उल्लेख गर्नु पर्नेछ ।
तर रायबाझी भएको फैसलामा प्रधान न्यायाधीशले तोकेको कुनै न्यायाधीशले सो बेहोरा जनाई टिपोट किताबमा मृत्यु भएको न्यायाधीशले लेखेको निर्णयलाई नै निजको रायको रूपमा उतार गरी त्यस्तो फैसलामा दस्तखत गर्नु पर्नेछ ।