दफा १५
म्यानेजिंग डाइरेक्टर तथा अन्य कर्मचारीहरू उपर कारवाई गर्ने
: (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियमद्वारा तोकिएको आफ्नोे अधिकारको दुरूपयोग गरेको वा सो भन्दा बढी अधिकारको प्रयोग गरेको वा संस्थानको सम्पत्ति वा कोष हिनामिना गरेको छ भन्ने लागेमा म्यानेजिंग डाइरेक्टरलाई नेपाल सरकारले र अन्य कर्मचारीलाई समितिले सस्पेण्ड गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम सस्पेण्ड गरिएका म्यानेजिंग डाइरेक्टर उपर नेपाल सरकारले तोकेको उच्च अदालतको न्यायाधीश वा त्यस्तो न्यायाधीश हुनसक्ने योग्यता पुगेका व्यक्तिद्वारा र अन्य कर्मचारीहरूको हकमा समितिले उचित ठहराएका व्यक्तिद्वारा जाँचबुझ गर्न लगाउन सक्नेछ ।
(३) यस दफाको प्रयोजनको लागि बयान गराउन, लिखतहरू दाखिल गर्न लगाउने, साक्षी प्रमाण बुझ्ने सम्बन्धमा जिल्ला अदालतलाई भएका सबै अधिकार उपदफा (२) अन्तर्गत जांचबुझ गर्न तोकिएको न्यायाधीश वा खटिएका व्यक्तिलाई हुनेछ ।
(४) त्यस्ता जाँचबुझको प्रतिवेदनको विचार गरी म्यानेजिंग डाइरेक्टरका हकमा नेपाल सरकारले र अन्य कर्मचारीको हकमा समितिले नियम, विनियममा तोकिएको कुनै प्रकारको सजाय गर्ने गरी आदेश दिन सक्नेछ ।
(५) त्यस्तो आदेशमा चित्त नबुझे म्यानेजिंग डाइरेक्टरले सर्वोच्च अदालतमा र अन्य कर्मचारीले नेपाल सरकारमा प्रचलित कानून बमोजिम पुनरावेदन दिन सक्नेछ । सो पुनरावेदन उपरको आदेश फैसला अन्तिम हुनेछ ।
(६) उपदफा (१) बमोजिम सस्पेण्ड रहेको व्यक्तिले त्यसरी सस्पेण्डमा रहेको अवधिको निमित्त कुनै मेहनताना पाउने छैन ।
तर लागेको अभियोग प्रमाणित नभै सफाइ पाएमा सस्पेण्ड हुने व्यक्तिले सस्पेण्ड रहेको अवधिको पूरा मेहनताना पाउनेछ ।