दफा ४७
राजनीतिक परामर्श बैठक
(१) दलहरुसँग देहायका विषयमा परामर्श, अन्तरक्रिया तथा छलफल गर्न आयोगले समय–समयमा राजनीतिक परामर्श बैठक आयोजना गर्न सक्नेछः–
(क) निर्वाचन प्रणाली सम्बन्धी,
(ख) निर्वाचन तथा राजनीतिक दल सम्बन्धी कानून सम्बन्धी,
(ग) निर्वाचन वा जनमत सङ्ग्रह सम्बन्धी,
(घ) राजनीतिक दलको लेखा तथा लेखा परीक्षण सम्बन्धी,
(ङ) आयोगले तयार गरेको कुनै कानूनी वा नीतिगत विषय सम्बन्धी,
(च) आयोगले उपयुक्त ठानेको अन्य विषय ।
(२) उपदफा (१) को प्रयोजनका लागि आयोगले सङ्घीय संसद वा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका पदाधिकारीलाई आमन्त्रण गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै महत्वपूर्ण विषयमा छलफल, परामर्श वा अन्तरक्रिया गर्न दलका प्रमुख पदाधिकारीको उपस्थिति आवश्यक लागेमा आयोगले त्यस्ता पदाधिकारीलाई आमन्त्रण गर्न सक्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम आमन्त्रण भएकोमा त्यस्तो बैठकमा भाग लिनु सम्बन्धित दल तथा त्यसका पदाधिकारीको कर्तव्य हुनेछ ।
(५) आयोगले आवश्यकता अनुसार प्रदेशस्तर वा जिल्लास्तरमा समेत राजनीतिक परामर्श बैठक आयोजना गर्न सक्नेछ ।
(६) राजनीतिक दलको परामर्श बैठक सम्बन्धी अन्य कार्यविधि आयोगले तोके बमोजिम हुनेछ ।