दफा
राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन तोक्न सक्ने –
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बिरुवा संरक्षणसँग सम्बन्धित केन्द्रीय स्तरको कुनै कार्यालयलार्ई राष्ट्रिय बिरुवा संरक्षण सङ्गठनको रुपमा तोक्न सक्नेछ ।
(२) यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त सङ्गठनको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) पैठारी वा निकासी गरिने बिरुवा वा बिरुवाजन्य उपजको स्वस्थता सम्बन्धी मापदण्ड तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ख) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा र अन्य वस्तुको परीक्षण, जाँच, निरीक्षण र उपचार सम्बन्धी निर्देशिका तयार गरी लागू गर्ने,
(ग) संकटोत्पन्न क्षेत्रको पहिचान गरी क्वारेन्टाइन प्रक्रियाबाट सो क्षेत्रमा बिरुवा तथा बिरुवाजन्य उपजको संरक्षण गर्ने गराउने,
(घ) शत्रुजीव मुक्त क्षेत्र एवं कम शत्रुजीव सङ्क्रमित क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रको घोषणा तथा निगरानी गर्ने,
(ङ) बिरुवा तथा बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीराको ओसार पसार र प्रयोग सम्बन्धी शर्त तथा बन्देज तोक्ने,
(च) बिरुवा तथा बिरुवाजन्य उपज, लाभदायक कीरा, बायोलोजिकल कण्ट्रोल एजेण्ट वा अन्य वस्तु सम्बन्धी कामको राष्ट्रिय समन्वयकर्ताको रुपमा काम गर्ने,
(छ) पैठारी वा निकासी गरिने बिरुवा वा बिरुवाजन्य उपजको स्वस्थता सम्बन्धी स्वीकृत मापदण्ड लागू गर्ने, गराउने,
(ज) अन्य राष्ट्रहरुको बिरुवा स्वस्थता सम्बन्धी निकायसँग समन्वय गरी एक अर्काको प्रवेश अनुमतिपत्र तथा स्वस्थता प्रमाणपत्रलाई मान्यता दिने सम्बन्धमा समझदारी गर्ने,
(झ) तोकिए बमोजिमको अन्य काम गर्ने ।