दफा
राष्ट्रिय भुक्तानी बोर्डको गठन
(१) देहायका अध्यक्ष र सदस्य रहेको एक राष्ट्रिय भुक्तानी बोर्डको गठन गरिएको छः–
(क)    बैङ्कको गभर्नर                                                                     -अध्यक्ष
(ख)     अर्थ मन्त्रालयको सचिव                                                       -सदस्य
(ग)    नेपाल सरकारबाट मनोनीत तोकिएको योग्यता
पुगेको एकजना  विज्ञ                                                            -सदस्य
(घ)     महालेखा नियन्त्रक                                                               -सदस्य
(ङ)    बैङ्कको सम्बन्धित क्षेत्र हेर्ने डेपुटी गभर्नर                              —सदस्य
(च)     नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष                                   -सदस्य
(छ)     बैङ्कको भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक -सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको सदस्यको पदावधि दुई बर्षको हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को खण्ड (ग) बमोजिम मनोनीत सदस्यले आफ्नो पद अनुसारको काम नगरेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ।
तर त्यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनुपर्नेछ।
(४) बोर्डको बैठक आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(५) बोर्डको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अघि बैठकमा छलफल हुने विषय सदस्य…सचिवले सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ।
(६) कम्तीमा एकाउन्न प्रतिशत सदस्य उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(७) बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा अर्थ मन्त्रालयको सचिवले बैठकको अध्यक्षता गर्नेछ।
(८) बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(९) बोर्डले आवश्यक ठानेमा भुक्तानी, समाशोधन वा फर्स्यौट सम्बन्धी विज्ञ वा अन्य पदाधिकारीलार्इ बोर्डको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(१०) बैठकको निर्णय छुट्टै पुस्तिकामा अभिलेख गरिनेछ र त्यस्तो पुस्तिकामा बैठकको अध्यक्षता गर्ने व्यक्ति र उपस्थित सम्पूर्ण सदस्यले दस्तखत गर्नु पर्नेछ।
(११) बोर्डको निर्णय बोर्डको सदस्य…सचिवले प्रमाणित गरी राख्नु पर्नेछ।
(१२) बोर्डको सचिवालय बैङ्कले तोकेको बैङ्कको विभागमा रहनेछ।
(१३) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ।