दफा १०
राष्ट्रिय सहकारी महासङ्घको गठन
: (१) सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरूको आधारमा सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन गर्ने, गराउने लगायतका कार्य गर्न देहाय बमोजिमका संस्था वा सङ्घहरूले आपसमा मिली राष्ट्रिय सहकारी महासङ्घ गठन गर्न सक्नेछन् :–
(क) दफा ४ बमोजिम गठन भएको पचास प्रतिशतभन्दा बढी जिल्ला विषयगत सहकारी सङ्घ,
(ख)  दफा ५ बमोजिम गठन भएका पचास प्रतिशतभन्दा बढी जिल्ला सहकारी सङ्घ,
(ग) दफा ६ बमोजिम गठन भएका पचास प्रतिशतभन्दा बढी प्रदेश विषयगत सहकारी सङ्घ,
(घ)    दफा ७ बमोजिम गठन भएका पचास प्रतिशतभन्दा बढी प्रदेश सहकारी सङ्घ,
(ङ)     दफा ८ बमोजिम गठन भएका पचास प्रतिशतभन्दा बढी केन्द्रीय विषयगत सहकारी सङ्घ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत दर्ता भएको राष्ट्रिय सहकारी सङ्घ यसै ऐन बमोजिम राष्ट्रिय सहकारी महासङ्घमा परिणत भएको मानिनेछ ।