नियम २९
लिलाम विक्रीको कार्यविधि
(१) ऋण असुली अधिकृतले नियम २८ बमोजिम आÇनो कब्जामा लिएको चल अचल सम्पत्ति लिलाम गरी रकम असुल उपर गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिलाम गर्दा अचल सम्पत्तिको हकमा पैंतीस दिन र चल
सम्पत्तिको हकमा पन्ध्र दिनको म्याद दिई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा लिलाम विक्री गर्ने
प्रयोजनको लागि सिलबन्दी बोलपत्र आह्वान वा डाँक बढाबढको सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२क) उपनियम (२) बमोजिम प्रकाशित सूचनाको आधारमा परेको सिलबन्दी बोलपत्र
स्थानीय प्रशासनका प्रतिनिधि र बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोली मूल्याङ्कन
गर्नु पर्नेछ । त्यसरी मूल्याङ्कन गर्दा उपनियम (३) बमोजिम कायम भएको मूल्यको अधीनमा रही
सबैभन्दा बढी मूल्य भएको बोलपत्रदाताको बोलपत्र स्वीकृत गरी त्यस्तो बोलपत्रदातालाई सो
सम्पत्ति लिलाम विक्री गर्नु पर्नेछ ।
(२ख) उपनियम (२) बमोजिम प्रकाशित सूचनाको आधारमा डाँक बढाबढको माध्यमद्वारा लिलाम विक्री गर्दा स्थानीय प्रशासनको प्रतिनिधि र कम्तीमा दुईजना स्थानीय व्यक्तिहरूको रोहबरमा उपनियम (३) बमोजिम कायम भएको मूल्यको अधीनमा रही सो सम्पत्ति लिलाम विक्री गर्नुपर्नेछ ।
(३) उपनियम (१) बमोजिम चल अचल सम्पत्ति लिलाम विक्री गर्नु अघि स्थानीय प्रशासनको प्रतिनिधि, जिल्ला मालपोत कार्यालयको प्रतिनिधि र स्थानीय निकायको प्रतिनिधिको रोहबरमा ऋण असुली अधिकृतले त्यस्तो चल अचल सम्पत्तिको प्रचलित बजार मूल्यलाई समेत ध्यानमा राखी मूल्य कायम गर्नु पर्नेछ ।  त्यसरी चल अचल सम्पत्तिको मूल्य कायम गर्दा सम्बन्धित विशेषज्ञ समेतको राय लिन सकिनेछ ।
(४) उपनियम (२क) वा (२ख) बमोजिम  लिलाम विक्री गर्दा त्यस्तो चल अचल सम्पत्तिको उपनियम (३) बमोजिम कायम भएको मूल्य भन्दा घटी मूल्य पर्न आएमा अर्को पटक अचलको हकमा पन्ध्र दिन र चल सम्पत्तिको हकमा सात दिनको म्याद दिई राष्ट्रिय स्तरको पत्र–पत्रिकामा सूचना प्रकाशन गरी त्यस्तो सम्पत्तिको लिलाम विक्री गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दोस्रो पटक चल अचल सम्पत्तिको  लिलाम विक्री गर्दा पनि उपनियम (३) बमोजिम कायम भएको मूल्य भन्दा घटी मूल्य पर्न आएमा तेस्रो पटक अचल सम्पत्तिको हकमा दश दिन र चल सम्पत्तिको हकमा पाँच दिनको समय दिई राष्ट्रिय स्तरको पत्र–पत्रिकामा सूचना प्रकाशन गरी त्यस्तो सम्पत्ति लिलाम बढाबढ गर्नु पर्नेछ । यसरी तेस्रो पटक लिलाम विक्री गर्दा पनि उपनियम (३) बमोजिमको मूल्यभन्दा कम मूल्य प्राप्त हुन आएमा  त्यस्तो चल अचल सम्पत्ति सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले निर्धारित मूल्यमा सकार गर्नु पर्नेछ । त्यसरी बैङ्क वा वित्तीय संस्थाले चल अचल सम्पत्ति सकारेपछि त्यस्तो बैङ्क वा वित्तीय संस्थाको ऋण चुक्ता भएको मानी हिसाब मिलान गरिेनेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनका लागि चल सम्पत्ति भन्नाले नगद बाहेकको चल सम्पत्ति सम्झनु पर्छ ।