दफा १०
वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त वित्तीय जानकारी इकार्ईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा  बढीको कारोबारको विवरण प्राप्त गर्ने, (ख) यस ऐन बमोजिम शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन प्राप्त गर्ने, (ग) यस ऐन बमोजिम मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्राप्त गर्ने, (घ) यस ऐन बमोजिम अन्य सूचना, कागजात तथा विवरण प्राप्त गर्ने, (ङ) शंकास्पद कारोबार प्रतिवेदन लगायत यस ऐन बमोजिम प्राप्त अन्य प्रतिवेदन तथा जानकारीको विश्लेषण गर्ने, (च) खण्ड (ङ) बमोजिम विश्लेषण गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूर सम्बन्धी शङ्का लागेमा विश्लेषणको निष्कर्ष आफैं वा सम्बन्धित निकायको अनुरोधमा विभाग वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान तहकिकात गर्ने निकायमा प्रवाह गर्ने, (छ) यस ऐन बमोजिमको सूचना दिने दायित्व भएका सूचक संस्था, सम्बद्ध निकाय, नियमनकारी निकाय तथा आफ्ना कर्मचारीलाई आवश्यकता अनुसार तालीमको व्यवस्था गर्ने, (ज) शंकास्पद कारोबारको पहिचान, शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा जानकारी समेतका सम्बन्धमा सूचक संस्था वा सम्बद्ध निकायलाई आवश्यक पृष्ठपोषण तथा मार्गदर्शन गर्ने, (झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकार समक्ष पेश गर्ने, (ञ) शंकास्पद कारोबार पहिचान, मूल्यांकन, प्रतिवेदन प्रणाली तथा सोको प्रभावकारिताका सम्बन्धमा नियमनकारी निकायलाई आवश्यकता अनुसार सूचक संस्थाको निरीक्षण गर्न सहयोग गर्ने वा निरीक्षण सुपरीवेक्षणको प्रतिवेदन अध्ययन गरी पृष्ठपोषण दिने, (ट) समान प्रकृतिको काम गर्ने विदेशी निकायसग पारस्पारिकताको आधारमा सहयोग आदान प्रदान सम्बन्धी समझदारी कायम गर्ने, र (ठ) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने । (२) वित्तीय जानकारी इकाईले समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायसँग आवश्यक सूचना वा सहयोग माग गर्न वा आफैं वा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायको अनुरोधमा सूचना दिन वा अन्य सहयोग प्रदान गर्न सक्नेछ । (३) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम आफूलाई प्राप्त सहयोग तथा सूचनाको प्रयोग गर्दा त्यस्तो सूचना वा सहयोग प्रदान गर्ने निकायले तोकिदिए बमोजिमका शर्तहरु पालना गर्नु पर्नेछ । (४) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायलाई सूचना तथा सहयोग प्रदान गर्दा त्यस्तो सूचना वा सहयोगको प्रयोगको सम्बन्धमा तोकिए बमोजिमका शर्तहरु समेत उल्लेख गर्नु पर्नेछ । (५) उपदफा (२) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा १०ख. बमोजिमको गोपनीयता सम्बन्धी व्यवस्था लागू हुनेछ । (६) यस दफा बमोजिमको काम, कर्तव्य र अधिकार पूरा गर्ने क्रममा वित्तीय जानकारी इकाईले देहाय बमोजिम गर्न सक्नेछः– (क) सूचक संस्थाबाट आवश्यक थप कागजात, अभिलेख, विवरण, सूचना तथा जानकारी माग गर्ने तथा प्राप्त गर्ने, वा (ख) कुनै व्यावसायिक तथ्यांक वा सम्बद्ध निकाय, नियमनकारी निकाय, सार्वजनिक संस्थामा रहेको प्रशासनिक, वित्तीय वा कानून कार्यान्वयन सम्बन्धी सूचना, कागजात वा विवरणमा पहुँच प्राप्त गर्ने र त्यस्तो सूचना, कागजात वा विवरण माग गर्ने तथा प्राप्त गर्ने । (७) शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन नदिने वा यस ऐन बमोजिम दिएको आदेश तथा तोकिदिएको शर्त पालना नगर्ने वा पेश गर्न आदेश दिएको कागजात वा जानकारी उपलब्ध नगराउने सूचक संस्थालाई वित्तीय जानकारी इकाईले गम्भीरताका आधारमा दशलाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ । (८) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम सूचक संस्थालाई जरिवाना गर्दा सम्बन्धित सूचक संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ । (९) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम गरेको जरिवानामा चित्त नबुझ्ने सूचक संस्थाले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन दिन सक्नेछ । (१०) वित्तीय जानकारी इकाईले कुनै सूचक संस्थालाई उपदफा (७) बमोजिम जरिवाना गरेमा सात दिनभित्र सोको जानकारी नियमनकारी निकायलाई दिनु पर्नेछ ।