दफा ११
विद्युतीय अभिलेखको प्राप्ति स्वीकार गर्ने प्रक्रिया
(१) उत्पत्तिकर्ताले विद्युतीय अभिलेख पठाउँदाका बखत वा पठाउनु भन्दा अगावै प्रापकलाई सो विद्युतीय अभिलेख प्राप्त भएको कुराको सूचना वा भरपाई पठाउन अनुरोध गरेको वा त्यसरी सूचना वा भरपाई पठाउन प्रापक र उत्पत्तिकर्ताका बीचमा सहमति भएको अवस्थामा त्यस्तो विद्युतीय अभिलेखको प्राप्ति स्वीकार गर्ने सम्बन्धमा उपदफा (२), (३) र (४) का व्यवस्थाहरु लागू हुनेछन् ।
(२) विद्युतीय अभिलेख प्राप्त भएको सूचना वा भरपाई कुनै खास ढाँचामा वा कुनै खास तरिकाबाट दिनु पर्ने गरी उत्पत्तिकर्ता र प्रापकबीचमा कुनै सम्झौता नभएको अवस्थामा त्यस्तो सूचना वा भरपाई देहाय बमोजिम दिन सकिनेछ ः–
(क) प्रापकबाट स्वचालित वा अन्य कुनै किसिमको सञ्चार माध्यमद्वारा,
(ख) विद्युतीय अभिलेख प्राप्त भएको कुरा उत्पत्तिकर्तालाई सङ्केत गर्न पर्याप्त हुने किसिमको प्रापकको कुनै व्यवहारद्वारा ।
(३) उत्पत्तिकर्ताले कुनै विद्युतीय अभिलेखको सम्बन्धमा त्यस्तो विद्युतीय अभिलेख प्राप्त भएको सूचना वा भरपाई प्रापकबाट प्राप्त गरेपछि मात्र निजको हकमा त्यस्तो विद्युतीय अभिलेख बन्धनकारी हुने भनी उल्लेख गरेको अवस्थामा प्रापकबाट त्यस्तो विद्युतीय अभिलेख प्राप्त भएको सूचना वा भरपाई प्राप्त नभएसम्म त्यस्तो विद्युतीय अभिलेख उत्पत्तिकर्ताले पठाएको मानिने छैन ।
(४) उत्पत्तिकर्ताले कुनै विद्युतीय अभिलेखको सम्बन्धमा त्यस्तो विद्युतीय अभिलेख प्राप्त भएको सूचना वा भरपाई प्रापकबाट प्राप्त गरेपछि मात्र निजको हकमा त्यस्तो विद्युतीय अभिलेख बन्धनकारी हुने भनी उल्लेख नगरेको अवस्थामा त्यस्तो विद्युतीय अभिलेख प्राप्तिको सूचना वा भरपाईको सम्बन्धमा उत्पत्तिकर्ता वा प्रापकबीच कुनै समय निर्धारण वा मञ्जुरी नभएको भए तोकिए बमोजिमकोे समयभित्र उत्पत्तिकर्ताले प्रापकबाट त्यस्तो विद्युतीय अभिलेख प्राप्त भएको सूचना वा भरपाई प्राप्त गरिसकेको हुनु पर्नेछ । यसरी प्रापकबाट विद्युतीय अभिलेख प्राप्त भएको सूचना वा भरपाई प्राप्त नभएमा त्यस्तो विद्युतीय अभिलेख उत्पत्तिकर्ताले पठाएको मानिने छैन ।
(५) विद्युतीय अभिलेखको प्राप्ति स्वीकार गर्ने अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ ।