दफा १५
विवाद समाधान सम्बन्धी कार्यविधि
(१) मेलमिलापद्वारा विवाद समाधान गर्ने कार्यविधि सम्बन्धित पक्षहरुले
निर्धारण गरे बमोजिम हुनेछ ।
(२) मेलमिलाप सम्बन्धी कार्य गर्ने कुनै संस्थाले बनाएको नियमावली वा अपनाएको कार्यविधि बमोजिम मेलमिलापद्वारा विवाद समाधान गर्ने सम्बन्धमा पक्षहरुबीच सहमति भएकोमा त्यस्तो नियमावली वा कार्यविधि बमोजिम विवादको समाधान गरिनेछ ।
(३) दफा ३ को उपदफा (४) बमोजिम मुद्दा हेर्ने निकायको आदेश बमोजिम मेलमिलापद्वारा विवादको समाधान गर्दा सम्बन्धित मुद्दा हेर्ने निकायले कुनै कार्यविधि निर्धारण गरेको वा त्यस्तो कार्यविधि अपनाउन आदेश गरेको रहेछ भने त्यस्तो कार्यविधि बमोजिम मेलमिलापद्वारा विवादको समाधान गरिनेछ ।
(४) उपदफा (१), (२) वा (३) बमोजिमको कार्यविधि वा नियमावलीको व्यवस्था नभएकोमा विवादको प्रकृति तथा विवादको शीघ्र समाधान गर्न पक्षहरुले चाहेको कुरालाई ध्यान दिई पक्षहरुको सहमतिमा मेलमिलापकर्ताबाट उपयुक्त ठानिएको कार्यविधि बमोजिम विवादको समाधान गरिनेछ ।
(५) उपदफा (४) बमोजिमको कार्यविधि अपनाउँदा अन्य कुराको अतिरिक्त देहाय बमोजिमको कार्यविधि तय गर्नु पर्ने छ:-
(क) पक्षहरुलाई आ–आफ्नो दाबी तथा जिकिर आफु समक्ष राख्न लगाउन,
(ख) पक्षसँग छुट्टाछुट्टै वा सामूहिक रुपमा भेटघाट गर्न,
(ग) पक्षहरुसँग कुनै सूचना, प्रमाण वा कागजात माग गर्न,
(घ) खण्ड (ग) बमोजिम माग गरेको सूचना, प्रमाण वा कागजात अर्को पक्षलाई हेर्न दिन,
(ङ) पक्षहरुलाई निजहरुबीच रहेको मतभेद हटाई मेलमिलाप गराउन सक्ने वैकल्पिक आधार पेश गर्न लगाउन ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्ले विवाद समाधानका प्रक्रियाका विषयमा नमूना कार्यविधि (मोडल प्रोसुजर) बनाई जारी गर्न सक्नेछ ।