दफा
विश्वविद्यालय परिषद्को बैठक
(१) विश्वविद्यालय परिषद्को बैठक वर्षमा कम्तीमा एकपटक बस्नेछ।
(२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा विश्वविद्यालय परिषद्को बैठक बस्नेछ।
(३) विश्वविद्यालय परिषद्को बैठक हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै बैठकमा छलफल हुने विषयहरूको कार्यसूची सहितको सूचना विश्वविद्यालय परिषद्को सदस्य-सचिवले सबै सदस्यलाई दिनेछ।
(४) विश्वविद्यालय परिषद्मा तत्काल कायम रहेका सदस्यहरूको बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(५) उपदफा (४) बमोजिम बैठकमा गणपूरक सङ्ख्या नपुगेमा सात दिनको समय दिई दोस्रो पटक बैठक बोलाउनु पर्नेछ।
(६) उपदफा (५) बमोजिम बोलाइएको बैठकमा गणपूरक सङ्ख्या नपुगेमा पुनः तीन दिनको समय दिई तेस्रो पटक बैठक बोलाउनु पर्नेछ। त्यसरी बोलाइएको बैठकमा जतिजना सदस्य उपस्थित भए पनि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(७) रजिष्ट्रारको सिफारिसमा विश्वविद्यालयमा अध्ययनरत एकजना छात्रा सहित दुईजना विद्यार्थीलाई परिषद्को बैठकमा आमन्त्रण गर्न सकिनेछ।
(८) बिश्वविद्यालय परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ। अध्यक्षको अनुपस्थितिमा दफा ७ को उपदफा (१०) बमोजिम अध्यक्ष छनोट हुन सक्ने सदस्यहरू मध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ।
(९) विश्वविधालय परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(१०) विश्वविद्यालय परिषद्को बैठकको निर्णय विश्वविद्यालय परिषद्को सदस्य-सचिवले सो परिषद्को बैठकको अध्यक्षता गर्ने व्यक्तिबाट प्रमाणित गराई राख्नेछ र प्रमाणित प्रति सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ।
(११) अध्यक्षको स्वीकृतिमा सदस्यहरूले सञ्चार प्रविधिको प्रयोग गरी विश्वविधालय परिषद्को बैठकमा भाग लिन सक्ने छन्‌। त्यसरी भाग लिएमा बैठकमा उपस्थित भएको मानिनेछ।
(१२) विश्वविद्यालय परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि सो परिषद्‌ आफैंले निर्धारण गरे बमोजिम हुनेछ।