नियम १९
व्यक्तिगत दुर्घटना बीमा तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था

(१) पर्वतारोही दलले पर्वतारोहणको लागि प्रस्थान गर्नु अघि आफ्नो साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार तथा आधार शिविरका कामदारलाई पर्वतारोहण अभियान समाप्त गरी नफर्कुन्जेलसम्मको लागि नेपाल सरकारबाट मान्यता प्राप्त कुनै बीमा कम्पनीसित देहायको रकममा नघट्ने गरी व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्नेछ :–

(क) सम्पर्क अधिकृतका लागि पन्ध्र लाख रुपैयाँ,
(ख) सरदार, पर्वतीय पथ प्रदर्शक र उचाइमा जाने कामदार प्रत्येकका लागि बिस लाख रुपैयाँ,

(ग) आधार शिविरका कामदार प्रत्येकका लागि पन्ध्र लाख रुपैयाँ।

(घ) ………….
(२) पर्वतारोही दलले उपनियम (१) बमोजिम स्थानीय कामदारको बीमा गराउँदा प्रत्येक कामदारका लागि पाँच लाख रुपैयाँमा नघटाई गर्नु पर्नेेछ ।
(३) उपनियम (१) वा (२) वा ऐनको दफा २५ को उपदफा (२) वा (३) बमोजिम बीमा वा क्षतिपूर्ति पाउने रकम सम्बन्धित व्यक्ति वा निजको हकवालालाई दिलाई दिने जिम्मेवारी सम्बन्धित पर्वतारोही दल तथा सो पर्वतारोहणको व्यवस्था मिलाउने संस्थाको हुनेछ ।

(४) उपनियम (१) वा (२) वा ऐनको दफा २५ को उपदफा (२) वा (३) बमोजिम बीमा वा क्षतिपूर्ति पाउने व्यक्ति नाबालक भएमा सम्बन्धित वीमा कम्पनी वा पर्वतारोही दलले त्यस्तो रकम मन्त्रालयमा बुझाउनु पर्नेछ र त्यसरी रकम प्राप्त भएमा मन्त्रालयले त्यस्तो नाबालक बालिग नभएसम्म निजको पालन पोषणको लागि आवश्यक व्यवस्था
मिलाउनको निमित्त उपयुक्त सम्झेको व्यवस्था गर्नेछ ।
(५) पर्वतारोही दलले आफ्नो साथमा जाने सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक‚ उचाईमा जाने कामदार‚ आधार शिविरका कामदार र स्थानीय कामदार दुर्घटनामा परी सामान्य चोटपटक लागेमा औषधोपचार गर्न प्रत्येकको लागि नेपाल
सरकारद्वारा मान्यताप्राप्त बीमा कम्पनीसँग देहाय बमोजिम बीमा गराउनु पर्नेछ :–
(क) छ हजार पाँच सय मीटरसम्म उचाईका हिमालचुलीको आरोहण गर्नु पर्दा कम्तीमा तीन लाख रुपैयाँको,
(ख) छ हजार पाँच सय मीटरभन्दा बढी उचाईका हिमालचुलीको आरोहण गर्नु पर्दा कम्तीमा चार लाख रुपैयाँको ।