नियम ९६क
शिक्षक छनौट समिति
(१) सामुदायिक विद्यालयमा प्रधानाध्यापक वा करारमा शिक्षक नियुक्तिका लागि सिफारिस गर्न, समुदायद्वारा सञ्चालित विद्यालयमा सामुदायिक शिक्षक, अन्य शिक्षक तथा प्रधानाध्यापकको नियुक्ति र त्यसरी नियुक्ति भएका शिक्षकको वढुवाको लागि सिफारिस गर्न वा संस्थागत विद्यालयमा स्थायी शिक्षक नियुक्तिको लागि सिफारिस गर्न प्रत्येक विद्यालयमा देहाय बमोजिमको एक शिक्षक छनौट समिति रहनेछः–
(क) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको सो समितिको सदस्य – अध्यक्ष
(ख) सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक वा जिल्ला शिक्षा अधिकारीले तोकेको अधिकृत – सदस्य
(ग) माध्यमिक तहको शिक्षक छनौट गर्नु पर्ने भएमा शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर र अन्य तहको शिक्षक छनौट गर्नु पर्ने भए शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेका व्यक्तिहरूमध्येबाट उपलब्ध भएसम्म एकजना महिला समेतको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समितिले मनोनीत गरेको दुईजना – सदस्य
(घ) प्रधानाध्यापक – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिम प्रधानाध्यापकको नियुक्तिको लागि सिफारिस गर्न बसेको शिक्षक छनौट समितिको बैठकमा सो विद्यालयको प्रधानाध्यापकमा उम्मेदवार नभएको उपलव्ध वरिष्ठतम शिक्षकले सदस्य– सचिव भई कार्य गर्नेछ ।
(३) उपनियम (१) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
(४) शिक्षक छनौट समितिको सचिवालय सम्बन्धित विद्यालयमा रहनेछ ।
(५) आयोगले शिक्षक छनौट गर्ने सम्बन्धमा मापदण्ड निर्धारण वा कार्यविधि जारी गरेको भए शिक्षक छनौट समितिले त्यस्तो मापदण्ड वा कार्यविधिको पालना गर्नु पर्नेछ ।
(६) उपनियम (१) को खण्ड (ग) को प्रयोजनको लागि जिल्ला शिक्षा कार्यालयले विशेषज्ञको सूची अद्यावधिक गरी राख्नु पर्नेछ ।
(७) शिक्षक छनौट समितिले शिक्षक सिफारिसका लागि लिइने परीक्षाको केन्द्र जिल्ला सदरमुकाम वा
स्रोत केन्द्रमा राख्नु पर्नेछ ।
(८) शिक्षक छनौट समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।