दफा ५४
सजाय
(१) कुनै दलले देहायको कुनै काम गरेमा आयोगले पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछः–
(क) दफा २१ को खण्ड (ड), (ढ), (ण), (त) वा (थ) विपरीतको कार्य गरेमा,
(ख) दफा १६ को उपदफा (१) बमोजिम केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन नगरेमा,
(ग) केन्द्रीय समिति र प्रदेश समितिको साङ्गठनिक संरचना समानुपातिक समावेशी प्रतिनिधित्वको आधारमा नबनाएमा,
(घ) लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा,
(ङ) यस ऐन बमोजिम प्राप्त गरेको स्वेच्छिक आर्थिक सहयोग रकम र आर्थिक सहायताको रकमको लेखा विवरण आयोगले माग गरेकोमा त्यस्तो विवरण वा लेखाको अभिलेख तोकिए बमोजिमको अवधिभित्र पेश नगरेमा,
(च) दफा ११ को उपदफा (२) बमोजिम दलको काम कारबाही रोक्न दिएको आदेश बमोजिम नगरेमा,
(छ) दफा ३९ को उपदफा (४) बमोजिम भएको जरिबाना वापतको रकम तोकिएको अवधिभित्र दाखिला नगरेमा ।
(२) कुनै दलले उपदफा (१) को खण्ड (ख), (ग), (घ), (ङ), (च) वा (छ) विपरितको काम गरेमा आयोगले त्यस्तो दललाई त्यस्तो काम, कारबाही छ महिनाभित्र सच्याउन आदेश दिन सक्नेछ।
(३) कुनै दलले उपदफा (१) बमोजिम भएको जरिबाना नबुझाएमा वा उपदफा (२) बमोजिमको अवधिभित्र काम, कारबाही नसच्याएमा त्यस्तो दललाई आयोगले तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी आदेश दिन सक्नेछ ।
(४) कुनै दलले उपदफा (१) बमोजिमको कसूर एक पटकभन्दा बढी गरेमा वा उपदफा (२) बमोजिम दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा जरिबाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता दफा १२ बमोजिम खारेज गर्न सक्नेछ ।
(५) दलले देहायको कुनै काम गरेमा आयोगले देहाय बमोजिम जरिबाना गर्नेछः–
(क) दफा ४० बमोजिम लेखा नराखेमा, दफा ४१ को उपदफा (१) बमोजिम लेखापरीक्षण नगराएमा वा लेखापरीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा उपदफा (४) बमोजिम स्पष्टीकरण पेश नगरेमा बीस हजार रुपैयाँसम्म,
(ख) दफा ४० को उपदफा (४) बमोजिम विवरण नदिएमा वा निरीक्षण गर्न नदिएमा दश हजार रुपैयाँसम्म,
(ग) दफा ४१ को उपदफा (५) बमोजिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगरेमा सात हजार रुपैयाँसम्म,
(घ) दफा ४२ को उपदफा (२) बमोजिम विवरण पेश नगरेमा वा दफा ५३ को उपदफा (२) बमोजिमको विवरण प्रकाशन नगरेमा पाँच हजार रुपैयाँसम्म,
(ङ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दलले गर्नु पर्ने अन्य काम नगरेमा वा गर्न नहुने काम गरेमा पाँच हजार रुपैयाँसम्म ।
(६) आयोगले दफा ३८ विपरीत हुने गरी स्वेच्छिक आर्थिक सहयोग दिने व्यक्ति वा संस्थालाई त्यस्तो सहयोग बराबरको रकम जरिबाना गर्नेछ ।
(७) आयोगले देहायको काम गर्ने व्यक्तिलाई दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछः–
(क) दफा ९ वा दफा १० को उपदफा (७) विपरीत संरक्षित झण्डा वा चिन्ह प्रयोग गरेमा,
(ख) दफा ४१ को उपदफा (२) विपरीत लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गर्नु पर्ने विवरण उल्लेख नगरेमा,
(ग) दफा ५३ को उपदफा (१) बमोजिम सम्पत्ति विवरण पेश नगरेमा ।
(८) यस दफा बमोजिम आयोगले सजाय गर्नुअघि सम्बन्धित दल वा व्यक्तिलाई आफ्नो सफाई पेश गर्न सात दिनको समय दिनु पर्नेछ ।