नियम १३क
समावेश पदमा दरखास्त बुझाउने आधार
नियम ११क. बमोजिम छुट्टयाइएका पदमा दरखास्त दिंदा देहायका आधारमा दिनु पर्नेछः–
(क) आदिवासी/जनजातिको सम्बन्धमा नेपाल आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो ऐनमा सूचीकृत भएको जातिभित्र एक भन्दा बढी थर भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जातिभित्रको थर हो भनी प्रमाणित भएको आधारमा,
(ख) तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी÷जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदायका सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय भनी प्रमाणित भएको र त्यसरी नतोकिएसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी/जनजाति, दलित, पिछडा वर्ग वा अल्पसंख्यक मुसलमान समुदाय भनी प्रमाणित भएको आधारमा,
(ग) दलितमा सम्बन्धमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा र सो आयोगबाट सूचीकृत भएको जातिभित्र एक भन्दा बढी थर भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट त्यसरी सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित भएको आधारमा,
(घ) अपाङ्गता भएको व्यक्तिको हकमा स्थानीय तहबाट प्राप्त अपाङ्गताको परिचयपत्रको आधारमा,
(ङ) पिछडिएको क्षेत्रको सम्बन्धमा विज्ञापन भएको जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त दिंदाका वखतसम्म सोही स्थानमा स्थायी
बसोबास भएको भनी प्रमाणित भएको आधारमा ।