(१) समितिले नेपालको संविधानको अनुसूचीमा उल्लेख भए बमोजिमको अधिकारको सूची, नेपाल सरकार, (कार्य विभाजन_ नियमावली, नेपाल सरकारद्वारा स्वीकृत कार्य विस्तृतीकरण, कार्यप्रकृति र औचित्यसमेतको आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी देहायका विषयमा नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ :-
(क) संघ र प्रदेशमा रहने मन्त्रालयको सङ्गठन संरचना,
(ख) संघमा रहने सचिवालय, आयोग, विभाग, कार्यालय वा एकाइ,
(ग) प्रदेशमा रहने कार्यालय वा एकाइ,
(घ) स्थानीय तहमा रहने कार्यालय, एकाइ वा सेवा केन्द्र,
(ङ) संघ, प्रदेश र स्थानीय तहको सेवामा रहने सेवा, समूह वा उपसमूह,
(च) संघ, प्रदेश र स्थानीय तहको सेवामा रहने श्रेणी, तह वा स्तर,
(छ) संघ, प्रदेश र स्थानीय तहमा रहने सेवा, समूह वा उपसमूह तथा श्रेणी, तह वा स्तरअनुसारको सङ्गठन संरचना र कार्यविवरण सहितको कर्मचारी दरबन्दी,
(ज) श्रेणीको पदमा कार्यरत कर्मचारीलाई तहको पदमा वा तहको पदमा कार्यरत कर्मचारीलाई श्रेणीको पदमा समायोजन गर्नुपर्ने भए समायोजन गरिने श्रेणी वा तहको पदको लागि चाहिने शैक्षिक योग्यता र नोकरी अवधिसमेतका अन्य आधार र प्रक्रिया ।
(२) समितिले गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको सङ्गठन संरचना तथा दरबन्दी सिफारिस गर्दा भौगोलिक अवस्था, जनसङ्ख्या र वडा सङ्ख्याको आधारमा समान विशेषता भएका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकालाई विभिन्न समूह (क्लष्टर) मा विभाजन गरी प्रत्येक समूहको प्रतिनिधित्व हुने गरी स्थलगत अध्ययन गर्न गराउन सक्नेछ ।
(३) समितिले महानगरपालिकाको सङ्गठन संरचना तथा दरबन्दी सिफारिस गर्दा सबै महानगरपालिकाको स्थलगत अध्ययन गरी गराई सो अध्ययनसमेतको आधारमा आवश्यकता अनुसार समान वा फरक फरक सङ्गठन संरचना तथा दरबन्दी सिफारिस गर्न सक्नेछ ।
(४) समितिले प्रदेशको सङ्गठन संरचना तथा दरबन्दी सिफारिस गर्दा प्रदेशको भौगोलिक अवस्था, जनसङ्ख्या र भौतिक पूर्वाधारसमेतको स्थलगत अध्ययन गर्न, गराउन सक्नेछ ।
(५) समितिले कुनै सेवा, समूह वा उपसमूहभित्र एउटै पदनाम रहेको पदलाई आवश्यकता अनुसार छुट्टाछुट्टै पदनाम सिफारिस गर्न सक्नेछ ।