(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः– (क) ट्रष्टको सम्पत्तिको समुचित व्यवस्थापन गरी यसको सम्भार र संरक्षण गर्ने, (ख) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको दफा ४ बमोजिम ट्रष्टमा रहनु पर्ने सम्पत्तिको नेपालभित्र वा नेपालबाहिर खोजतलास गर्ने, त्यसको वास्तविक स्थिति पत्ता लगाई यथार्थ विवरण सहितको अभिलेख राख्ने, (ग) ट्रष्टको स्वामित्वमा आउनु पर्ने दफा ४ बमोजिमको सम्पत्ति ट्रष्टको नाममा नामसारी दाखेल खारेज गराई ट्रष्टको हक सुरक्षण गर्ने, (घ) ट्रष्टको सम्पत्ति दफा ५ बमोजिम राष्ट्रहितमा प्रयोग गर्ने, (ङ) ट्रष्टको सम्पत्ति यस ऐनको उद्देश्य पूरा गर्न आय आर्जन हुने कार्यमा लगानी गर्ने, (च) तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने । (२) ट्रष्टले आवधिक योजना तर्जुमा गरी स्वीकृतिका लागि नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ । (३) ट्रष्टले आय आर्जन हुने व्यापारिक क्षेत्रमा लगानी गर्दा त्यसको रणनीतिक योजना तयार गरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ । (४) समितिले प्रत्येक आर्थिक वर्ष शुरु भएको मितिले तीस दिनभित्र त्यस्तो आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमहरुको वार्षिक कार्यक्रम स्वीकृत गरी सोको विवरण सार्वजनिक गर्नु पर्नेछ ।