दफा
समितिको काम, कर्तव्य र अधिकार

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) देवघाट क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने ।
(ख) देवघाट क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि विदेशी सरकार राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय वा व्यक्तिबाट नगद, जिन्सी वा अन्य कुनै प्रकारको सहयोग उपलब्ध गर्ने ।
(ग) देवघाट क्षेत्रको सामाजिक, आर्थिक, धार्मिक तथा साँस्कृतिक विकासको निमित्त त्यस क्षेत्रभित्रका प्राचीन, ऐतिहासिक, धार्मिक साँस्कृतिक तथा पुरातात्विक महत्वका मठ, मन्दीर देवस्थल, देवालय, धर्मशाला, विहार, सरोबर वा यस्तै प्रकारका ऐतिहासिक
महत्वका प्राचीन स्थल तथा वस्तुहरूको खोजी अन्वेषण तथा अनुसन्धान गर्ने ।
(घ) देवघाट क्षेत्रभित्र पर्यटनको लागि उपयुक्त हुने स्थानहरूमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरू स्वीकृत गर्ने ।
(ङ) देवघाट क्षेत्रभित्र कुनै स्थान विशेषको महत्व, गरिमा, मान्यता र सम्वेदनशीलतालाई ध्यानमा राखी त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने ।
(च) नेपाल बाहिरका संस्था वा व्यक्तिहरूबाट चन्दा संकलन गर्ने ।
(छ) देवघाट क्षेत्रभित्र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम राख्ने ।
(ज) देवघाट क्षेत्रभित्र शैक्षिक संस्था, अस्पताल, पुल, ढल, विजुली, टेलिफोन, सडक जस्ता सार्वजनिक उपयोगका साधनहरू सुव्यवस्थित गर्ने व्यवस्था मिलाउने, फोहर मैला हुन नदिने गरी स्वच्छता कायम गर्ने र सो क्षेत्रभित्रका नेपाल सरकारका सम्बन्धित कार्यालयहरू, स्थानीय निकायहरू र गैर सरकारी संघ संस्थाहरूसंग समन्वय राखी कार्यक्रमहरू सञ्चालन गर्ने ।
(झ) देवघाट क्षेत्रभित्र गरिने निर्माण सम्बन्धमा आवश्यक मापदण्ड तोक्ने र प्रचलित कानून बमोजिम घर जग्गा प्राप्त गर्न तथा विभिन्न कार्यको लागि जग्गा छुट्टाउने कार्य गर्ने व्यवस्था मिलाउने ।
(ञ) देवघाट क्षेत्रको महत्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन गोष्ठी वा प्रदर्शनीको आयोजना गर्ने ।
(ट) देवघाट क्षेत्रको योजनाबद्ध विकास गर्दा सुव्यवस्थित रूपले निर्माण र मर्मत सम्भार कार्य गर्ने ।
(ठ) देवघाट क्षेत्रभित्र सरकारी, गैर सरकारी निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण कार्यहरू सञ्चालन गर्ने निकायहरू बीच समन्वय कायम गर्ने ।
(ड) देवघाट क्षेत्रभित्रको कुनै पुरातात्विक महत्वको स्थानलाई संरक्षित स्थान घोषित गर्न व्यवस्था गर्ने ।
(ढ) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्ति गर्न कुनै निर्माण कार्य हटाउनु पर्ने, भत्काउनु पर्ने, परिवर्तन गर्नु पर्ने वा नियन्त्रण गर्नु पर्ने भए सो गर्ने व्यवस्था मिलाउने ।
(ण) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नु पर्ने अन्य कार्यहरू गर्ने,
गराउने ।