(१) यस ऐनबमोजिम कर निर्धारणको आदेश प्राप्त भएपछि करदाताले सो आदेश प्राप्त भएको मितिले पैंतीस दिनभित्र सोही आदेशमा तोकिएको बैंक वा कार्यालयमा कर रकम दाखिल गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र कर दाखिल नगर्ने करदातालाई त्यस्तो करको वार्षिक पन्ध्र प्रतिशत शुल्क लाग्नेछ । बाँकी कर र शुल्क समेतको रकम कर अधिकृतको सूचना अनुसार तोकिएको अधिकारी वा कार्यालयबाट निम्नलिखित कुनै वा सबै तरीका अपनाई असुल उपर गर्न सकिनेछ:-
(क) करदाताको चल वा अचल सम्पत्ति रोक्का गर्ने वा कब्जा गर्ने ।
(ख) करदाताको नाममा कुनै सरकारी कार्यालय वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थामा रहेका धरौटी वा त्यस्तो कार्यालय वा संस्थाबाट करदातालाई तिर्नु बुझाउनु पर्ने रकम रोक्का गर्ने वा त्यस्तो रकम कर कार्यालयमा दाखिल गर्न लगाउने।
(ग) करदाताको चल वा अचल सम्पत्ति सबै वा केही एकै पटक वा पटक पटक गरी तोकिए बमोजिम लिलाम बिक्री गर्ने ।
(३) उपदफा (२) को खण्ड (ग) बमोजिम करदाताको सम्पत्ति लिलाम बिक्रीको कारवाई शुरू गरेपछि लिलाम बिक्री समाप्त हुनु अगावै बाँकी रकम दाखिल गर्न ल्याएमा लाग्ने कर र शुल्कको कुल रकमको सयकडा पाँच प्रतिशतका दरले थप शुल्क लगाई असुल उपर गरिनेछ ।