दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क)“सम्पत्ति” भन्नाले नगदी वा जिन्सीको रूपमा रहेका र स्वामित्व हस्तान्तरण गर्न सकिने सबै किसिमका चल अचल सम्पत्ति सम्झनु पर्छ र सो शब्दले करदाताको बैंक एकाउण्ट र लगानीलाई समेत जनाउँछ ।

(ख) “कर” भन्नाले यो ऐन वा प्रचलित कानूनबमोजिम लागेको वा लाग्ने सम्पत्ति कर सम्झनु पर्छ ।

(ग) “करदाता” भन्नाले यो ऐन वा प्रचलित कानूनबमोजिम सम्पत्ति कर तिर्नु पर्ने कर्तव्य भएका व्यक्ति वा कर अधिकृतले यस ऐन बमोजिम सम्पत्तिको विवरण दाखिला गराउन सूचना दिएको वा अरू कुनै कारवाही गरिएको व्यक्ति सम्झनु पर्छ ।

(घ) “लगानी” भन्नाले शेयर, सेक्यूरिटी, स्टक, वण्ड, डिवेन्चर र साझेदारी फर्ममा गरिएको जुनसुकै किसिमको नगदी वा जिन्सी लगानी सम्झनु पर्छ ।

(ङ) “महानिर्देशक” भन्नाले कर विभागका महानिर्देशक सम्झनु पर्छ ।

(च) “कर निर्धारण” भन्नाले अस्थायी कर निर्धारण, पुन कर निर्धारण र अतिरिक्त कर निर्धारण समेत सम्झनु पर्छ ।

(छ) “कर अधिकृत” भन्नाले यस ऐनको प्रयोजनको निमित्त नेपाल सरकारले नियुक्त गरेको कर अधिकृत, वरिष्ठ कर अधिकृत, प्रमुख कर अधिकृत वा यो ऐन बमोजिम कर अधिकृतको अधिकार प्रयोग गर्न पाउने गरी नेपाल सरकारले नियुक्त गरेको अन्य कुनै अधिकृत सम्झनु पर्छ ।

(ज) “व्यक्ति” भन्नाले कुनै उद्योग, व्यापार, पेशा वा व्यवसाय गरी आयकर तिर्नु पर्ने कर्तव्य भएको कुनै व्यक्ति वा शेयर खुला रूपमा खरीद बिक्री गर्ने कम्पनीमा स्वामित्व भएको व्यक्ति सम्झनु पर्छ ।

(झ) “परिवार” भन्नाले पति पत्नी र अंश छुट्टिएका वा नछुट्टिएका नावालक छोरा छोरी सम्झनु पर्छ ।

(ञ) “फर्म” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको वा नभएको जुनसुकै फर्मलाई सम्झनु पर्छ ।

(ट) “कम्पनी” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थालाई सम्झनु पर्छ ।

(ठ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।