दफा २४
सम्पत्ति विवरण दाखिल नगर्नेलाई सजाय

(१) दफा ७ को उपदफा (१) मा तोकिएको म्यादभित्र सम्पत्ति विवरण दाखिल नगर्ने करदातालाई पाँच हजार रूपैयासम्म जरिवाना हुनेछ ।

(२) दफा ८ बमोजिमको आदेश अनुसारको म्यादभित्र सम्पत्ति विवरण दाखिल नगर्ने व्यक्तिलाई लाग्ने करको वार्षिक दश प्रतिशतका दरले जरिवाना हुनेछ ।

(३) उपदफा (२) बमोजिम सम्पत्ति विवरण दाखिल नगर्ने करदातालाई कर अधिकृतले सम्पत्ति विवरण दाखिल नगरेसम्म देहायको कुनै वा सबै कारवाई गर्न सक्नेछ:-

(क) करदाताको चल वा अचल सम्पत्ति रोक्का वा कब्जा गर्ने,

(ख) करदाताको नाउँमा कुनै सरकारी कार्यालय वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थामा रहको धरौटी वा त्यस्तो कार्यालय वा संस्थाले करदातालाई तिर्नु बुझाउनु पर्ने रकम रोक्का गर्ने,

(ग) करदाताको कारोवार वा निकासी पैठारी रोक्का गर्ने ।

(४) उपदफा (३) बमोजिम कारवाई सुरू गरेको सात दिनभित्र कर अधिकृतले सो कारवाई गर्न लागेको जानकारी महानिर्देशकलाई दिनु पर्नेछ ।

(५) दफा ७ को उपदफा (१) वा दफा ८ बमोजिमको म्यादभित्र सम्पत्ति विवरण दाखिल नगर्ने करदाताको दफा १० को उपदफा (२) बमोजिम कर निर्धारण गर्न परी सोही दफाको उपदफा (३) बमोजिम म्याद दिएपछि मात्र सम्पत्ति विवरण पेश गर्ने वा सम्पत्ति विवरण नै पेश नगर्ने करदातालाई लाग्ने करको वार्षिक पन्ध्र प्रतिशतका दरले जरिवाना हुनेछ ।

(६) उपदफा (२) वा (५) अनुसार जरिवानाको अंक कायम गर्दा लाग्ने करको रकमबाट दाखिल भै सकेको अग्रीम कर कट्टी गरी असुल गर्न बाँकी करको रकमबाट मात्र जरिवानाको अंक कायम गरिनेछ ।

(७) उपदफा (१), (२) र (५) मा जुनसुकै लेखिएको भए तापनि सो उपदफाहरू अनुसार जरिवानाको अंकको गणना गर्दा आर्थिक वर्ष समाप्त भएको मितिले तीन महीना नाघेको मितिदेखि गणना गरिनेछ र सो जरिवानाको अंक करदाताले बुझाउन बाँकी करको पचास प्रतिशतभन्दा बढी हुने छैन ।