नियम १२५
सम्बद्धता निर्धारण समिति
(१) बढुवा प्रयोजनको लागि कर्मचारीले हासिल गरेको शैक्षिक उपाधि सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित छ छैन भन्ने द्विविधा भएमा सो सम्बन्धमा देहाय बमोजिमको समितिले निर्णय गर्नेछ :—
(क) सचिवालय सचिव – अध्यक्ष
(ख) लोक सेवा आयोगको सचिव वा निजले तोकेको आयोगको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत – सदस्य
(ग) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत – सदस्य
(घ) सम्बद्धता निर्धारण गर्नु पर्ने विषयमा कुनै एक विश्व बिदालयको सम्बन्धित विषयको प्राध्यापक वा विशेषज्ञ एक जना – सदस्य
(ङ) महासचिवले तोकेको अधिकृत – सदस्य—सचिव
(२) बढुवा प्रयोजनको लागि कर्मचारीले हासिल गरेको तालीमको विषय, श्रेणी रस्तर सम्बन्धमा द्विविधा भएमा सो विषयमा समकक्षता निर्धारण गर्न देहाय बमोजिमको सम्वद्धता निर्धारण समिति रहनेछ ः–
(क) सचिवालय सचिव —अध्यक्ष
(ख) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत –सदस्य
(ग) लोक सेवा आयोगको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत —सदस्य
(घ) समकक्षता निर्धारण गर्नु पर्ने तालीमको बिषयसँग सम्बन्धित प्रशिक्षण प्रतिष्ठान वा तालिम केन्द्रको प्रमुख वा निजले तोकेको
प्रतिनिधि एकजना —सदस्य
(ङ) सचिवालयको जनशक्ति विकास महाशाखा प्रमुख —सदस्य
(च) महासचिवले तोकेको अधिकृत —सदस्य–सचिव
(३) बढुवाको सम्भाव्य उम्मेदवारले दरखास्तसँग पेश गरेको शैक्षिक योग्यता र तालीमको सम्बन्धमा बढुवा समितिको बैठक बस्नु भन्दा अगाडि उपनियम (१) र (२) बमोजिमका समितिले सम्बद्धता वा समकक्षता निर्धारण गरेमा त्यस्तो शैक्षिक योग्यता र तालीमको अङ्क समेत बढुवाको लागि गणना गरिनेछ । समितिको सचिवालय व्यवस्थापिका–संसद सचिवालयमा रहनेछ ।
(४) यस नियम बमोजिमका समितिद्वारा सम्बद्धता वा समकक्षता निर्धारण गरिएका शैक्षिक योग्यताका विषयहरू सचिवालयले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।