नियम ११
सल्लाहकार समितिको गठन

(१) राष्ट्रिय खोप कार्यक्रमको विकास, विस्तार तथा सञ्चालन गर्न तथा प्राकृतिक प्रकोप वा माहामारी भएका बखत तत्काल खोप कार्यक्रम सञ्चालन गर्नु पर्ने विषयमा समितिलाई आवश्यक राय सल्लाह दिन एक राष्ट्रिय खोप सल्लाहकार समिति रहनेछ ।

(२) उपनियम (१) बमोजिमको सल्लाहकार समितिमा देहाय बमोजिमका सदस्यहरु रहने छन्:–

(क) जनस्वास्थ सम्बन्धी विशेषज्ञ चिकित्सक वा वरिष्ठ बालरोग विशेषज्ञ मध्येबाट नेपाल सरकारले

    मनोनीत गरेको व्यक्ति – अध्यक्ष
(ख) प्रमुख, नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा, मन्त्रालय – सदस्य
(ग) निर्देशक, बाल स्वास्थ्य महाशाखा, विभाग – सदस्य
(घ) निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विभाग – सदस्य
(ङ) सभापति, नेपाल पिडियाट्रिक सोसाइटी वा निजले तोकेको सो सोसाइटीको प्रतिनिधि – सदस्य
(च) इपिडिमियोलोजिष्ट, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य अर्थशास्त्री र वरिष्ठ बालरोग विशेषज्ञ मध्येबाट मन्त्रालयले मनोनीत गरेका तीनजना – सदस्य
(छ) शाखा प्रमुख, राष्ट्रिय खोप कार्यक्रम, विभाग – सदस्य–सचिव

(३) सल्लाहकार समितिले आवश्यक ठानेमा कोषको काममा सहयोग पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाका प्रतिनिधि वा खोप सम्बन्धी विशेषज्ञलाई सल्लाहकार समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(४) उपनियम (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।

(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष वा कुनै सदस्यले इमान्दारीपूर्वक काम नगरेमा वा पदीय जिम्मेवारी पूरा नगरेमा मन्त्रालयले जुनसुकै बखत निजलाई अध्यक्ष वा सदस्यबाट हटाउन सक्नेछ । तर त्यसरी अध्यक्ष वा सदस्यबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।

(६) सल्लाहकार समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।