दफा ३५
साक्षी वा प्रमाण बुझ्ने
(१) विदेशी राज्यको अदालतले दफा २२ बमोजिम साक्षी वा प्रमाण बुझ्न अनुरोध गरेको भएमा सम्बन्धित अदालतले त्यस्तो अदालतमा विचाराधीन रहेको मुद्दाको कारबाहीमा प्रमाण बुझे सरह मानी प्रमाण बुझ्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रमाण बुझ्दा अदालतले कुनै साक्षी वा व्यक्तिलाई अदालतमा उपस्थित हुन म्याद दिनु पर्ने भएमा बाटोको म्याद बाहेक सात दिनसम्मको म्याद दिई कानून बमोजिम म्याद तामेल गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्रमाण बुझ्दा विदेशी राज्यको अदालतको अनुरोध बमोजिम साक्षी परीक्षण गर्नु पर्ने, बन्दसवालको जवाफ तयार गर्नु पर्ने वा प्रमाण, लिखत वा चल वा अचल सम्पत्तिको विवरण दिनु पर्ने विषयमा सीमित रही सम्बन्धित अदालतले प्रमाण बुझ्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम साक्षी परीक्षण गर्दा, बन्दसवालको जवाफ तयार गर्दा वा लिखत वा प्रमाण बुझ्दा जुन विषयको मुद्दामा यस दफा बमोजिम प्रमाण बुझिएको हो त्यस्तो मुद्दाका पक्ष, निजको वारेस वा कानून व्यवसायी अदालतमा उपस्थित हुन चाहेमा त्यस्तो पक्ष, वारेस वा कानून व्यवसायीलाई प्रमाण बुझ्दाका बखत अदालतमा उपस्थित हुन सम्बन्धित अदालतले अनुमति दिन सक्नेछ ।
(५) यस दफा बमोजिम सम्बन्धित अदालतले प्रमाण बुझ्दा नेपाल कानूनको प्रयोग गर्नु पर्नेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास विषयमा कुनै खास कार्यविधि वा तरिका अवलम्बन गरी प्रमाण बुझ्न विदेशी राज्यसंग सन्धि भएकोमा वा विदेशी राज्यले अनुरोध गरेको भएमा र सो बमोजिम प्रमाण बुझ्नको लागि केन्द्रीय अधिकारीबाट अनुरोध भएमा सम्बन्धित अदालतले सोही बमोजिम प्रमाण बुझ्नु पर्नेछ ।