नियम २९
सामुदायिक वन सुम्पने प्रकृया
(१) राष्ट्रिय वनको कुनै भागलाई उपभोक्ता समूहले सामुदायिक वनको रुपमा लिन चाहेमा अनुसूची–१४ बमोजिमको ढाँचामा जिल्ला वन अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदन र उपभोक्ता समूहले स्वीकृतिको लागि पेश गरेको कार्य योजना उपर जिल्ला वन अधिकृतले आवश्यक जाँचबुझ गरी कार्य योजनामा थपघट गर्नुपर्ने भएमा उपभोक्ता समूहको सहमति लिई थपघट गरी स्वीकृत गरिएको कार्ययोजना बमोजिमको वन क्षेत्र सामुदायिक वनको रुपमा उपभोक्ता समूहलाई नेपाल सरकारले तोकेको शर्तहरु पालन गर्ने कबुलियत गराई सामुदायिक वनको रुपमा सुम्पनेछ । त्यसरी सामुदायिक वन सुम्पदा अनुसूची–१५ बमोजिमको प्रमाणपत्र पनि सम्बन्धित उपभोक्ता समूहलाई हस्तान्तरण गरिनेछ ।
(३) वन क्षेत्र सामुदायिक वनको रुपमा सुम्पदा गाँउ, नगर तथा जिल्लाको सिमानाले असर पार्ने छैन ।
(४) सामुदायिक वनको रुपमा सुम्पने वन क्षेत्र दुई वा सो भन्दा बढी जिल्लाभित्र पर्ने भएमा
जुन जिल्लाका जिल्ला वन अधिकृत समक्ष निवेदन परेको हो निजले अन्य जिल्लाका जिल्ला वन अधिकृतको सहमति लिई सामुदायिक वन सुम्पन सक्नेछ ।
(५) उपनियम (२) र (४) बमोजिम सुम्पिएको सामुदायिक वनको अनुगमन तथा मूल्याङ्कन सम्बन्धित जिल्लाका जिल्ला वन अधिकृतले गर्नु पर्नेछ ।