दफा १३
सूचनाको निरन्तरता
(१) देहायका विवरण उल्लेख गरी दर्ता भएको निरन्तरताको विवरणले सूचनाको बहाली अवधि विस्तार गर्न सक्नेछः– (क) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान हुने विवरण, (ख) निरन्तरताको अख्तियारी दिने सूचनामा उल्लिखित धितो लिने व्यक्तिको पहिचान हुने विवरण, (ग) सूचना दर्ता गर्न अख्तियारी दिने धितो लिने व्यक्तिको सम्बन्धमा निरन्तरताको विवरण दर्ता गरी सूचनाको प्रभावकारिता निरन्तर हुने विवरण । (२) सूचना बहाल रहने पाँच वर्षको अवधि व्यतित हुनुभन्दा छ महिनाअगावै यस ऐनबमोजिम निरन्तरताको विवरण दर्ता गर्न सकिनेछ । (३) उपदफा (२) बमोजिम म्यादभित्रै निरन्तरताको विवरण दर्ता गरिएमा त्यस्तो विवरण दर्ता नगरिएको भए सो सूचना जुन मितिमा समाप्त हुने थियो सोही मितिदेखि पाँच वर्षको अवधिसम्म त्यस्तो सूचना बहाल रहनेछ । (४) सूचनामा उल्लिखित धितो लिने व्यक्ति एकभन्दा बढी भएको अवस्थामा जसले निरन्तरताको विवरण दर्ता गर्न अख्तियारी दिएको छ त्यस्तो धितो लिने व्यक्तिका हकमा मात्र उपदफा (३) मा उल्लेख भएबमोजिमको अवधिसम्म सूचना बहाल रहनेछ । (५) उपदफा (३) बमोजिम सूचना बहाल रहने अवधि समाप्त हुनुभन्दा अगावै धितो लिने व्यक्तिको अख्तियारीबमोजिम अर्को निरन्तरताको विवरण दर्ता नगरिएमा धितो लिने त्यस्तो व्यक्तिका हकमा सूचनाको बहाली अवधि समाप्त हुनेछ । सूचनाको बहाली अवधिलाई निरन्तरता दिन जुन तरिकाबाट सूचना दर्ता गर्नु पर्ने हो सोही तरिकाबाट पछिल्लो निरन्तरताको विवरण दर्ता गर्नु पर्नेछ ।