दफा १५
सूचनाको प्रभावकारिता
(१) प्रारम्भिक सूचना, संशोधन, निरन्तरताको विवरण वा समाप्तिको विवरण दर्ता गर्नको लागि लाग्ने दस्तूर सहित दर्ता कार्यालयमा पेश भएमा वा दर्ता कार्यालयले दर्ताको लागि त्यस्तो अभिलेख स्वीकार गरेमा त्यस्तो सूचना वा विवरण दर्ता कार्यालयमा दर्ता भएको मानिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाबमोजिम दर्ता कार्यालयमा दर्ताको लागि पेश भएको अभिलेख देहायको अवस्थामा दर्ता कार्यालयले दर्ता गर्न इन्कार गरेमा त्यस्तो अभिलेख दर्ता भएको मानिने छैनः–
(क) यस ऐनबमोजिम दर्ताको लागि लाग्ने दस्तूर अभिलेखसाथ संलग्न नभएमा,
(ख) प्रारम्भिक सूचनाको सम्बन्धमा ऋणीको नाम उल्लेख नभएमा,
(ग) संशोधनको सूचनाको विवरणमा प्रारम्भिक सूचनाको दर्ता नम्बर उल्लेख नगरेमा, ऋणीको नाम उल्लेख नगरेमा वा संशोधनसँग सम्बन्धित सूचनाको म्याद समाप्त भइसकेको भएमा,
(घ) निरन्तरताको विवरणमा प्रारम्भिक सूचनाको दर्ता नम्बर उल्लेख नभएको वा त्यस्तो निरन्तरताको विवरण दफा १३ को उपदफा (२) बमोजिम छ महिनाको अवधिभित्र पेश नगरिएमा, र
(ङ) समाप्तिको विवरणमा प्रारम्भिक सूचनाको दर्ता नम्बर उल्लेख नगरिएको भएमा ।
(३) उपदफा (२) मा उल्लिखित अवस्थामा बाहेक कार्यालयले आफु समक्ष दर्ताको लागि पेश भएको प्रारम्भिक सूचना, संशोधनको सूचना, निरन्तरताको विवरण वा समाप्तिको विवरण दर्ता गर्न इन्कार गरे तापनि त्यस्तो अभिलेख दर्ता भएसरह मानिनेछ ।
तर धितोको सम्पत्ति प्राप्त गर्ने व्यक्तिले त्यस्तो सूचना दर्ता नभएको भन्ने मुनासिब माफिकको विश्वासमा परी मूल्य बुझाएको अवस्थामा निजको हकमा यो व्यबस्था लागू हुनेछैन ।
(४) दर्ता कार्यालयले कुनै अभिलेख दर्ता गर्न इन्कार गरेमा सोको कारण सहितको सूचना सम्बन्धित व्यक्तिलाई यथाशिघ्र दिनु पर्नेछ ।
(५) यस ऐनबमोजिम दर्ता गर्न अख्तियारी पाएको व्यक्तिले दर्ता गरेको सूचनाको हदसम्म मात्र त्यसरी दर्ता गरिएको सूचना प्रभावकारी हुनेछ ।
(६) सूचनामा उल्लिखित धितो लिने व्यक्तिले अख्तियारी दिएको सूचनाले सो सूचनामा उल्लिखित धितो लिने अर्को व्यक्तिको अधिकारमा प्रभाव पार्ने छैन ।
(७) दर्ता कार्यालयले कुनै अभिलेखको सूची दुरुस्त नराखेको कारणले सो अभिलेखको प्रभावकारितामा असर पर्ने छैन ।