दफा १४
सूचनाको समाप्ति
(१) देहायका कुराहरु खुलाई समाप्तिको विवरण दर्ता गरी सूचनाको प्रभावकारिता अन्त्य गर्न सकिनेछः– (क) दर्ता नम्बरबाट प्रारम्भिक सूचनाको पहिचान गरिएको, (ख) समाप्तिको अख्तियारी दिने सूचनामा उल्लिखित धितो लिने व्यक्तिको पहिचान गरिएको, (ग) दर्ता गर्ने अख्तियारी दिने धितो लिने व्यक्तिको हकमा सो सूचना प्रभावकारी नभएको भन्ने कुरा खुलाइएको । (२) देहायका अवस्था पूरा भएमा धितो दिने व्यक्तिले धितो लिने व्यक्तिसँग लिखित माग गरेमा त्यस्तो माग प्राप्त गरेको बीस दिनभित्र धितो लिने भनी सूचनामा जनिएको व्यक्तिले समाप्तिको विवरण दर्ता गर्नु पर्नेछः– (क) कुनै पनि सुरक्षित दायित्व तिर्न बाँकी नरहेको र पेश्की दिने, दायित्व बहन गर्ने वा कुनै किसिमको मूल्य चुक्ता गर्ने प्रतिबद्धता नगरेको, वा (ख) धितो दिने व्यक्तिले प्रारम्भिक सूचना दर्ता गर्न अख्तियारी नदिएको, वा (ग) सूचनामा समाविष्ट बिक्री गरिसकेको बहीखाता वा सुरक्षित बिक्री करारका सम्बन्धमा रकम भुक्तानी गर्नु पर्ने दायित्व भएको व्यक्ति वा त्यस्तो दायित्व पूरा गर्नु पर्ने अन्य व्यक्तिले त्यस्तो दायित्व पूरा गरिसकेको । (३) सूचनामा उल्लिखित धितो लिने व्यक्तिको अख्तियारीबमोजिम समाप्तिको विवरण दर्ता भएमा त्यस्तो धितो लिने व्यक्तिको हक समाप्त हुनेछ । समाप्तिको विवरण दर्ता भएमा सो समाप्तिको विवरणसँग सम्बन्धित सूचना त्यस्तो अख्तियारी दिने धितो लिने व्यक्तिका हकमा प्रभावकारी हुने छैन ।