नियम २०
स्रेस्तेदारको काम, कर्तव्य र अधिकार
यस नियमावलीमा अन्य उल्लेख भएको काम, कर्तव्य र अधिकारका अतिरिक्त स्रेस्तदारको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) उजुरी पुनरावदेन, वकालतनामा रीत बमोजिम छ छैन जाँच्ने वा जाँच्न लगाउने र मुद्दा हेर्न अधिकारीको आदेशानुसार दर्ता गर्न वा दरपिठ गरी फिर्ता गर्ने,
(ख) मुद्दामा पेश भएका कागजको नक्कल सक्कलसंग भिडाई ठीक देखिएमा प्रमाणित गर्ने, सक्कलमा केही कैफियत देखिएमा सो कैफियत नक्कलमा समेत जनाई सम्बन्धित पक्षको सहीछाप गराई राख्ने,
(ग) उजुरी र पुनरावेदनपत्र र सोको साथमा पेश हुन आएका कागज प्रमाण र उक्त कागज प्रमाणको नक्कल ठीक छ छैन जाँच्ने,
(घ) प्रतिवादी र विपक्षी साक्षीहरूलाई पठाउने सम्पूर्ण म्यादमा दस्तखत गर्ने र तामेल गर्ने गराउने,
(ङ) मुद्दा मामिलामा मनासिव माफिकको तारिख तोकिदिन लगाउने,
(च) मुद्दाको डायरी राख्ने र त्यसमा कुन कुन मुद्दामा के के कारवार्हीको लागि तारिख दिइएको छ गोश्वारा तारिख किताब खडा गरी तारिख तोकिएका मितिहरू जनाउने,
(छ) मुद्दाको मिसिल कागजातको रेखदेख गरी समय समयमा सडाउनु पर्ने कागज सडाउने,
(ज) अदालतमा आएका सम्पूर्ण कागजपत्र बुझने र भरपाई दिने र आवश्यकतानुसार लेखापढी गर्ने,
(झ) मास्केवारी, वार्षिक प्रतिवेदन, बजेट आदि प्रशासकीय कागजहरू तयार पार्ने र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरी भएको आदेश बमोजिम पत्र व्यवहार गर्ने,
(ञ) कुनै निश्चित कामको निमित्त तोकिएका कर्मचारी वाहेक अदालतका अन्य कर्मचारीहरूमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई कामको बोझको अनुपात मिल्ने गरी काम बाँडी दिने,
(ट) कर्मचारीहरू सरुवा बढुवा हुंँदा सम्बन्धित कर्मचारीबाट बरबुझारथ गराउने,
(ठ) अदालतमा प्रयाग हुने जिन्सी सामान र छाप जिम्मा लिने र आवश्यकतानुसार दुरूपयोग हुन नपाउने गरी प्रयोग गर्ने गराउने,
(ड) रीतपूर्वक राख्नु पर्ने स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,
(ढ) अदालतका कर्मचारीको विदा सम्बन्धी प्रतिवेदन र अन्य सम्पूर्ण कर्मचारी प्रशासन सम्बन्धी कारवाही उठाई मुद्दा हेर्न अधिकारी समक्ष पेश गर्ने, भएको आदेश बमोजिम कारवाही गरी त्यसको अभिलेख राख्ने,
(ण) अदालतको बजेट सञ्चालन गर्ने, आदेश वा निकासा बमोजिम खर्च गर्ने, त्यसको लेखा राख्ने र लेखापरीक्षण गराउने,
(त) म्याद तामेल गर्ने कर्मचारीले म्याद तामेल गर्ने कार्य तदारूपकताका साथ गरेको छ वा छैन निरीक्षण गरी गरेको छैन भने गर्ने गराउने ।
(थ) पुनरावेदन अदालतबाट अन्य अडृा अदालतबाट मागी पठाएका मिसिल कागजपत्र पठाउने,
(द) मुद्दाको फाँटवारी फछ्र्यौट संख्या समेत खुलाई त्रैमासिक र वार्षिक प्रतिवेदन सम्बन्धित पुनरावेदन अदालत र श्रम मन्त्रालयमा पठाउने,
(ध) मुद्दा साप्ताहिक र दैनिक पेशी सूचीमा चढाई इजलाश समक्ष पश गर्ने,
(न) अदालतको तर्फबाट गर्नु पर्ने सबै लेखापढीको काम गर्ने,
(प) मिसिल संलग्न रहेका सक्कल लिखत काम सकिए पछि सम्बन्धित पक्षलाई फिता दिने ।