नियम ४५क
स्वास्थ्य संस्था सूचीकरण
(१) को प्रयोजनका लागि स्वास्थ्य संस्था सूचीकरण गर्न मन्त्रालयले दश दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्रकाशन भएपछि इच्छुक स्वास्थ्य संस्थाले सो सूचनामा तोकिएको अवधिभित्र सूचीकरणको लागि देहायका कागजात सहितको विवरण संलग्न गरी मन्त्रालयमा निवेदन दिनु पर्नेछ:-
(क) संस्थाको दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
(ख) स्वास्थ्य मन्त्रालयबाट प्राप्त स्वास्थ्य संस्था सञ्चालन स्वीकृतिपत्रको प्रमाणित प्रतिलिपि,
(ग) करचुक्ता प्रमाणपत्र तथा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
(घ) मन्त्रालयले तोकेको विवरण ।
(३) उपनियम (२) बमोजिम निवेदन सहितको कागजात प्राप्त भएमा मन्त्रालयले सो निवेदन जाँचबुझ गरी सिफारिस गर्न विशेषज्ञ समितिमा पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राप्त निवेदन सहितको कागजात जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विशेषज्ञ समितिले त्यस्तो स्वास्थ्य संस्थाको नाम सूचीकरणको लागि मन्त्रालय समक्ष सिफारिस गर्नेछ ।
(५) उपनियम (४) बमोजि विशेषज्ञ समितिबाट प्राप्त सिफारिस मनासिब देखिएमा मन्त्रालयले त्यस्तो स्वास्थ्य संस्थाको नाम सूचीकरण गरी सार्वजनिक गर्नु पर्नेछ ।
(६) उपनियम बमोजिम सूचीकरण हुने स्वास्थ्य संस्थाले वैदेशिक रोजगार विभागमा “पाँच लाख रुपैयाँ नगद धरौटी जम्मा गर्नु पर्ने र बोर्डको खातामा सूचीकरण शुल्क वापत पच्चीस हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
(७) यो उपनियम प्रारम्भ हुँदाका बखत मन्त्रालयमा सूचीकृत भई सकेको स्वास्थ्य संस्थाले यो उपनियम प्रारम्भ भएको तीन महिनाभित्र उपनियम (६) बमोजिमको नपुग धरौटी बापतको रकम जम्मा गर्नु पर्नेछ ।
(८) सूचीकृत भएका स्वास्थ्य संस्थाले प्रत्येक आर्थिक वर्षमा पौष मसान्तभित्र पाँच हजार रुपैयाँ नवीकरण दस्तुर बुझाई सूचीकरण नवीकरण गर्नु पर्नेछ ।