दफा ४२
हस्तान्तरण
(१) कुनै व्यक्तिले बहीखाता, सुरक्षित बिक्री करार, अधिकारपत्र तथा अन्य अमूर्त सम्पत्तिमा रहेको आफ्नो केही वा सबै अधिकार हस्तान्तरण गर्न सक्नेछ । हस्तान्तरण गर्दा सुरक्षित बिक्री करार, लिखत तथा अन्य अमूर्त सम्पत्तिमा रहेको अधिकार हस्तान्तरण हुन सक्नेछ । (२) दायित्व वहन गर्ने व्यक्ति र हस्तान्तरण गरि दिने व्यक्ति बीच सम्पन्न सम्झौताका शर्तहरु हस्तान्तरण गरी लिने व्यक्तिका हकमा समेत लागू हुनेछ । (३) यस दफामा अन्यथा व्यवस्था भएकोमा बाहेक हस्तान्तरणबाट उत्पन्न धितोको हकको आबद्धता, परिपक्वता वा कार्यान्वयनको सम्बन्धमा दायित्व वहनगर्ने व्यक्तिलाई कुनै जानकारी दिन आवश्यक हुने छैन । (४) हस्तान्तरणको जानकारी दायित्व वहन गर्ने व्यक्तिलाई दिनुपर्ने भएमा त्यस्तो जानकारी लिखितरुपमा दिनु पर्नेछ र सो जानकारीमा हस्तान्तरण गरिएको अधिकारको पहिचान गरी हस्तान्तरण गरि दिने वा हस्तान्तरण गरि लिने व्यक्तिले सही गर्नु पर्नेछ । (५) हस्तान्तरणको जानकारी प्राप्त गरेपछि दायित्व बहन गर्ने व्यक्तिले हस्तान्तरण गरि दिने व्यक्तिलाई भुक्तानी नदिई हस्तान्तरण गरि लिने व्यक्तिलाई भुक्तानी दिएर आफ्नो दायित्व परिपालन गर्नेछ । दायित्व बहनगर्ने व्यक्तिले अनुरोध गरेमा हस्तान्तरण गरि लिने व्यक्तिले हस्तान्तरण गरिएको कुराको पर्याप्त प्रमाण यथासमयमै उपलव्ध गराउनु पर्नेछ । हस्तान्तरण गरि लिने व्यक्तिले हस्तान्तरण गरेको कुराको पर्याप्त प्रमाण उपलव्ध गराउन नसकेमा हस्तान्तरणको सूचना पाइसकेको भए तापनि दायित्व बहनगर्ने व्यक्तिले हस्तान्तरण गर्ने व्यक्तिलाई भुक्तानी गरेर आफ्नो दायित्व पूरा गर्न सक्नेछ ।