दफा १३३
हातहतियार, खरखजाना तथा अन्य सैन्य सामग्रीको नियन्त्रण तथा जिम्मेवारी
(१) नेपाल सरकारले तोकेको व्यवस्थाको अधीनमा रही नेपाली सेनाको हातहतियार,  खरखजाना तथा अन्य सैन्य सर सामग्रीको नियन्त्रणको जिम्मा प्रधान सेनापतिमा रहनेछ ।
(२) नेपाली सेनाका लागि हातहतियार, खरखजाना तथा अन्य सैन्य सर सामग्री खरिद गर्न आवश्यक परेमा प्रधान सेनापतिले त्यसको पुष्ट्याइँ सहितको विवरण रक्षा मन्त्रालयमा प्रस्तुत गर्नु पर्नेछ । त्यसरी प्राप्त विवरणका सम्बन्धमा नीतिगत निर्णयका लागि मन्त्रिपरिषद्मा सिफारिश गर्न राष्ट्रिय सुरक्षा परिषद्मा पेश गर्नु पर्नेछ ।
(३) प्रधान सेनापतिले आफ्नो जिम्मामा रहेको नेपाली सेनाको हातहतियार,  खरखजाना तथा अन्य सैन्य सर सामग्री प्रचलित कानुन तथा नेपाल सरकारले दिएको निर्देशन बमोजिम आफ्नो नियन्त्रण तथा जिम्मेवारीमा नेपाली सेनाको कुनै अङ्गलाई उपलब्ध गराउने आदेश दिन सक्नछ ।
(४) प्रधान सेनापतिले नेपाली सेनाको हातहतियार, खरखजाना तथा अन्य सैन्य  सर सामग्री नेपाल सरकारको स्वीकृति लिई नेपाली सेनाका अङ्ग बाहेक अन्य निकायलाई  हस्तान्तरण गर्न वा बालगिरीमा दिन सक्नेछ ।
(५) प्रधान सेनापतिले नेपाली सेनाको हातहतियार, खरखजाना तथा अन्य सैन्य सर सामग्रीको अद्यावधिक विवरण प्रत्येक ६/६ महिनामा रक्षा मन्त्रालयमा पेश गर्नु पर्नेछ र सो बाहेक रक्षा मन्त्रालयले माग गरेको समयमा त्यसको अद्यावधिक विवरण पेश गर्ने कर्तव्य प्रधान सेनापतिको हुनेछ ।
(६) सेनाको काम र तालिमको लागि खर्च भएको हातहतियार खरखजाना मिन्हा दिने अधिकार प्रधान सेनापतिलाई हुनेछ र सो बाहेक अन्य काममा खर्च भएको हातहतियार तथा खरखजाना मिन्हा दिने अधिकार रक्षा मन्त्रालयलाई हुनेछ ।