नियम ११
११
११. प्रस्ताव पेश गर्नेः (१) नियम १० को उपनियम (१) बमोजिम प्रस्ताव आव्हान भएकोमा
प्रस्ताव पेश गर्न चाहनेले नियम ९ को उपनियम (५) मा सूचीकृत भएका लगानीकर्ताले
देहायको विवरण खुलाई त्यस्तो आव्हानमा उल्लिखित अवधिभित्र देहायका विवरण खुलाई
कार्यालय समक्ष प्रस्ताव पेश गर्नेछः–
(क) परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन,
(ख) परियोजनाको प्राविधिक डिजायन र त्यसको दीगोपना,
(ग) परियोजनाको अनुमानित लागत,
(घ) परियोजनाको प्रस्तावित वित्तीय स्रोत,
(ड) परियोजना कार्यान्वयनको व्यावसायिक योजना,
(च) परियोजनाको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन,
(छ) परियोजना कार्यान्वयन भएपछि त्यसका उपभोक्ताबाट असूल
गर्ने अनुमानित महसुलको विवरण,
(ज) परियोजना कार्यान्वयन गरेपछि सरकारलाई बुझाउने रोयल्टी वा
शुल्कको अनुमानित विवरण ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव पेश गर्दा लगानीकर्ताले कार्यालयबाट प्रस्ताव
सम्बन्धी कागजात खरिद गर्नु पर्ने भए त्यस्तो कागजातमा सो उपनियममा उल्लिखित
विवरणहरू खुलाई प्राविधिक र आर्थिक प्रस्तावहरू छुट्टा छुट्टै खाममा सिलबन्दी गरी दुवै
खामलाई अर्को छुट्टै खाममा राखी पुन सिलबन्दी गरी कार्यालयमा बुझाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कार्यालयमा प्रस्ताव बुझाएको पन्ध्र दिनभित्र
प्राविधिक प्रस्ताव खोली बोर्डबाट स्वीकृत मापदण्डको आधारमा विशेषज्ञहरूबाट
मूल्याङ्कन गराई प्राविधिक दृष्टिकोणबाट उपयुक्त देखिएका प्रस्तावहरू स्वीकृतिका लागि
बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्राविधिक प्रस्ताव अस्वीकृत भएका प्रस्तावको
आर्थिक प्रस्ताव खोलिने छैन र त्यस्ता प्रस्तावका प्रस्तावकलाई त्यस्तो प्रस्ताव फिर्ता लिन
प्राविधिक प्रस्ताव स्वीकृत भएको मितिले तीन दिनभित्र सूचना दिनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम प्राविधिक प्रस्ताव स्वीकृत भएका प्रस्तावकलाई
आर्थिक प्रस्ताव खोलिने ठाउँ, मिति र समय खुलाई सो ठाउँ मिति र समयमा उपस्थित
हुन सूचना दिनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको मिति, समय र स्थानमा सम्बन्धित प्रस्तावक वा
निजको प्रतिनिधिको रोहवरमा आर्थिक प्रस्ताव खोलिनेछ,
तर सम्बन्धित प्रस्तावक वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले मात्र
प्रस्ताव खोलिने काम रोकिने छैन ।
(७) उपनियम (६) बमोजिम प्रस्ताव खोल्दा प्रस्ताव रीतपूर्वक दाखिला भए वा
नभएको सो स्पष्ट हुने गरी मुचुल्का खडा गरी उपस्थित लगानीकर्ता वा निजको
प्रतिनिधिको सहीछाप गराउनु पर्नेछ ।
(८) उपनियम (६) बमोजिम खोलिएका प्रस्तावहरूको कार्यालयले मूल्याङ्कन
तथा विश्लेषण गरी एक महिनाभित्र सोको प्रतिवेदन बोर्ड समक्ष स्वीकृतिको लागि पेश
गर्नेछ ।