नियम ३क
“ख” श्रेणीको विर्ता जग्गा, जग्गा कमाउने व्यक्तिको नाउँमा दर्ता गर्ने
(१)
“ख” श्रेणीको विर्ता जग्गा, जग्गा कमाउने व्यक्तिले त्यस्तो जग्गा आफ्नो नाउँमा दर्ता
गराउन ऐनको दफा ७क. बमोजिम दरखास्त दिंदा विर्ताको लगत, कूत, कबूलियत
भर्पाई, क्षेत्रीय किताब वा विर्ता जग्गा हो भन्ने खुल्न आउने अन्य कुनै किसिमको
अभिलेख भएसम्म त्यस्तो अभिलेख संलग्न गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएपछि दरखास्तवालाले पेश
गरेको प्रमाण र दरखास्तको व्यहोरा उल्लेख गरी सो उपर चित्त नबुझ्नेले पैंतीस
दिनभित्र उजुर गर्नु भनी सार्वजनिक जानकारीको लागि सम्बन्धित गाउँ विकास
समिति वा नगरपालिकाको वडा कार्यालय, जिल्ला विकास समिति तथा जिल्ला
प्रशासन कार्यालयमा सूचना टाँस गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सूचना टाँस गरिएको म्याद भित्र कसैको उजुरी
नपरेमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका वा साँध संधियार बुझ्दा
दर्ताको लागि दरखास्त परेको जग्गा विर्ता नै हो भन्ने देखिन आएमा उपनियम (१)
बमोजिम दरखास्त दिंदा कुनै प्रमाण पेश नगरेको भए तापनि त्यस्तो जग्गा
दरखास्तवालाको नाउँमा दर्ता गरिदिनु पर्नेछ ।