दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “उपभोक्ता” भन्नाले कुनै उपभोग्य वस्तु वा सेवा उपभोग वा प्रयोग गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(ख) “परिषद्” भन्नाले दफा ३ बमोजिम गठन भएको उपभोक्ता संरक्षण परिषद् सम्झनु पर्छ ।
(ग) “क्षतिपूर्ति समिति” भन्नाले दफा २३ बमोजिम गठन भएको क्षतिपूर्ति समिति सम्झनु पर्छ ।
(घ) “उपभोग्य वस्तु” भन्नाले उपभोक्ताले उपभोग वा प्रयोग गर्ने वस्तु वा वस्तुहरूको सम्मिश्रणबाट बनेको पदार्थ सम्झनु पर्छ र सो शब्दले उपभोग्य वस्तुको निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, रङ, सुगन्ध वा रसायनलाई समेत जनाउँछ ।
(ङ) “सेवा” भन्नाले कुनै कामको निमित्त कुनै पनि किसिमको सेवा शुल्क वा प्रतिफल लिई प्रदान गरिएको श्रम, सुविधा वा परामर्श सम्झनु पर्छ ।
(च) “उत्पादन” भन्नाले उपभोग्य वस्तु बनाउने, तयार गर्ने, प्रसोधन गर्ने, परिणत गर्ने, प्याकिङ्ग गर्ने, पुन प्याकिङ्ग गर्ने, एसेम्बलिङ्ग गर्ने वा लेबल लगाउने प्रक्रिया वा सो सम्बन्धमा अपनाईने सम्पूर्ण वा कुनै प्रक्रिया सम्झनु पर्छ ।
(छ) “लेबल” भन्नाले उपभोग्य वस्तु वा उपभोग्य वस्तु राखिएको भाँडामा लेखिएको, छापिएको, लिथो गरिएको, चिन्ह लगाइएको, इम्बोर्स गरिएको, समावेश गरिएको वा अन्य कुनै किसिमले देखाइएको ट्याग, चिन्ह, तस्वीर वा अन्य विवरणात्मक वस्तु सम्झनु पर्छ ।
(ज) “अनुचित व्यापारिक क्रियाकलाप” भन्नाले कुनै पनि उपभोग्य वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल ढाँचा वा बनावट आदि ढाँटी वा झुक्याई त्यस्तो उपभोग्य वस्तु वा सेवा बिक्री वितरण वा प्रदान गर्ने, अन्य व्यक्तिले उत्पादन गरेको उपभोग्य वस्तुको गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा, बनावट आदिमा असर पारी बिक्री वितरण गर्ने कार्य सम्झनु पर्छ ।
(झ) “कमसल उपभोग्य वस्तु” भन्नाले देहायको कुनै अवस्थाको उपभोग्य वस्तु
सम्झनु पर्छ

(१) दफा ११ बमोजिम निर्धारित गरिएको गुणस्तरभन्दा कम्ती हुने गरी हुनु पर्ने पदार्थको परिमाण घटाइएको वा अर्को कुनै पदार्थको सम्मिश्रण गरिएको,
(२) स्वास्थ्यलाई हानिकारक हुने गरी सडेको, गलेको वा फोहोरमैला वा विषादी अवस्थामा राखिएको वा तयार गरिएको वा कुनै रसायन, रङ वा बास्ना प्रयोग गरिएको,
(३) केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशु, पंक्षी वा हानिकारक वनस्पतिबाट बनाइएको,
(४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम जारी गरिएको आदेशमा तोकिएको न्यूनतम आवश्यक गुणस्तरभन्दा घटेको वा
अधिकतम गुणस्तर तोकिएकोमा सो भन्दा बढेको ।
(ञ) “बिक्रेता” भन्नाले थोक वा खुद्रा रूपमा उपभोग्य वस्तु वा सेवा बिक्री वितरण गर्ने व्यक्ति, सरकारी वा गैर सरकारी संस्था वा सहकारी संस्था सम्झनु पर्छ ।
(ट) “प्रयोगशाला” भन्नाले उपभोग्य वस्तुको शुद्धता, पूर्णता वा गुणस्तर परीक्षण गर्ने उद्देश्यले स्थापना भएको नेपाल सरकारबाट मान्यता प्राप्त निकाय सम्झनु पर्छ ।
(ठ) “उपभोक्ता संस्था” भन्नाले उपभोक्ताको हक हित संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ ।
(ड) “निरीक्षण अधिकृत” भन्नाले दफा १४ बमोजिम नियुक्त वा तोकिएको निरीक्षण अधिकृत सम्झनु पर्छ ।
(ढ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।