दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) "गैरआवासीय नेपाली” भन्नाले देहायको व्यक्ति सम्झनु पर्छ:-

(१) गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति,

(२). नेपाली मूलको विदेशी नागरिक,

(३) विदेशमा बस्ने नेपाली नागरिक ।

(क१) "गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति?” भन्नाले कानून बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ।

(ख) “नेपाली मूलको विदेशी नागरिक” भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्ति सम्झनु पर्छ ।

(ग) “विदेशमा बस्ने नेपाली नागरिक” भन्नाले सार्कको सदस्य मुलुकमा बसोवास गरेको, नेपाल सरकारबाट खटीई विदेशस्थित कुटनैतिक नियोग वा महावाणिज्य दुतावासमा बहाल रहेको र विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक बाहेक कुनै पेशा, व्यवसाय र रोजगारी गरी विदेशी मुलुकमा कम्तीमा दुई वर्ष बसोवास गरेको नेपाली नागरिक सम्झनु पर्छ ।

(घ) “परिचयपत्र” भन्नाले दफा ४ बमोजिम दिइएको गैर आवासीय नेपालीको परिचयपत्र सम्झनु पर्छ ।

(ङ) “लगानी” भन्नाले मुनाफा आर्जन गर्ने उद्देश्यले नेपालको कुनै उद्योग वा व्यवसायमा गरेको लगानी सम्झनु पर्छ र सो शब्दले उद्योग वा व्यवसाय र गैर आवासीय नेपालीका बीच सम्झौता गरी कुनै विदेशी उत्पत्तिको प्रविधि सम्बन्धी अधिकार, विशिष्टता, फर्मुला, प्रक्रिया, पेटेण्ट, ट्रेडमार्क वा प्राविधिक सीप वा ज्ञानको हस्तान्तरण गर्ने वा प्राविधिक सल्लाहकार वा व्यवस्थापन सेवा उपलब्ध गराउने कार्य समेतलाई  जनाउँछ ।

(च) “परिवार” भन्नाले पति, पत्नी, बाबु, आमा, छोराछोरी, बाजे बज्यै र सासू वा ससुरा सम्झनु पर्छ ।

(छ) “नजिकका नातेदार” भन्नाले आयकर ऐन, २०५८ को दफा २ को खण्ड (ब) मा उल्लिखित नातेदार सम्झनु पर्छ ।

(ज) “परिवत्र्य विदेशी मुद्रा” भन्नाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा २ को खण्ड (ठ) बमोजिमको परिवत्र्य विदेशी मुद्रा सम्झनु पर्छ ।

(झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।