विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा –
(क) “वायुयान” भन्नाले हावाको प्रतिक्रियाद्वारा वायुमण्डलमा आधारित हुन सक्ने जुनसुकै यन्त्र सम्झनु पर्छ र यो शब्दले गाँसिएका वा नगाँसिएका बेलून, हवाई जहाज, चंगा, ग्लाइडर र उड्ने यन्त्रलाई समेत जनाउँछ ।
(ख) “विमानस्थल” भन्नाले वायुयान प्रस्थान गर्ने ओह्राल्ने कामको निमित्त पूरा वा आंशिक रूपमा प्रयोग हुने कुनै निश्चित वा सीमित जल वा स्थल क्षेत्र सम्झनु पर्छ र सो क्षेत्रमा रहेका वा सो क्षेत्रसंग सम्बन्धित सबै भवन, टहरा, जहाज डुुंगा, घाट र अरू इमारतहरूलाई समेत जनाउँछ ।
(ग) “पैठारी” भन्नाले नेपाल भित्र ल्याउने काम सम्झनु पर्छ ।
(घ) “निकासी” भन्नाले नेपाल .बाहिर लैजाने काम सम्झनु पर्छ ।
(ङ) “निर्धारित सीमा” भन्नाले नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा नेपाल सरकारले तोकिदिएको चार किल्लाभित्रको ठाउँ वा क्षेत्रलाई सम्झनु पर्छ ।
(च) “विमानस्थल क्षेत्र” भन्नाले विमानस्थल वा हवाई उडानको सुरक्षित सञ्चालन तथा नियन्त्रण गर्ने वा तत्सम्बन्धी आवश्यक सूचना तथा जानकारी आदान प्रदान गर्ने कामको निमित्त प्रयोग हुने कुनै यन्त्र तथा सन्चार वा उड्डयन सहाय (नेभिगेशनल एड) उपकरणहरू जडान भएको वा नभएको जुनसुकै स्थान, भवन, टहरा, टावर, जहाज, डुङ्गा र घाट सम्झनु पर्छ ।
(छ) “वायुसेवा सञ्चालन संस्था” भन्नाले वायुयानद्वारा यात्रु, डाँक तथा मालसामान ओसार पसार गर्ने जिम्मा लिई हवाई यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापित संस्थान, कम्पनी, एजेण्ट, फर्म वा व्यक्ति सम्झनु पर्छ ।
(ज) “हवाई उडान सम्बन्धी प्रशिक्षण संस्था (फ्लाइङ्ग स्कूल)” भन्नाले हवाई उडान सञ्चालनसंग सम्बन्धित प्राविधिकहरूलाई हवाई उडानसम्बन्धी विषयमा तालिम प्रशिक्षण तथा यस्तै अन्य प्रकारको प्राविधिक ज्ञान दिने दिलाउने संस्था सम्झनु पर्छ र सो शब्दले यस्तै उद्देश्यले स्थापना भएका फ्लाइङ्ग क्लवलाई समेत जनाउँछ ।