दफा
पृष्ठभूमि

१. पृष्ठभूमि

देशको भौगोलिक परिवेशले उपलब्ध गराएको अवसर र कृषकहरूको अनुभव तथा आधुनिक कृषि प्रविधिहरूको सदुपयोगबाट दिगो आर्थिक वृद्धि तथा खाद्य सुरक्षा सुनिश्चित गर्न सकिने सम्भावना विद्यमान रहेको छ । कृषि भूमिको अनुपयुक्त प्रयोग एवं विभिन्न प्रकोपहरूका कारण उर्वरा कृषि भूमिको ह्रास हुँदै जानु, कृषिमा श्रम र सीप हुनेहरूमा कृषि भूमिको पहुँच नपुग्नु र पहुँच पुग्नेहरूले पनि आधुनिक प्रविधिहरूको प्रयोग गरी पर्याप्त मात्रामा व्यवसायिक रूपमा उपयोग गर्न नसक्नु र गैर कृषि क्षेत्रको विकासको आधारको रूपमा रहेको कृषि क्षेत्रको विकासका पूर्वाधार (सिँचाई, सडक, विजुली, सञ्चार, उद्योग र बजार व्यवसाय तथा उन्नत प्रविधिहरू) मा पर्याप्त लगानी आकृष्ट हुन नसक्नु कृषि क्षेत्रको विकासको मूल समस्याका रूपमा रहेका छन् । कृषि क्षेत्रको समग्र विकासका लागि ल्याइएका कृषि विकासको नीतिगत रूपरेखा २०४८ तथा दीर्घकालीन कृषि योजनाले यस क्षेत्रको विकासलाई केही हदसम्म दिशाबोध गराएको छ । तथापि आर्थिक उदारीकरण, विश्व व्यापार संगठन तथा क्षेत्रीय संगठनहरूमा नेपालको विद्यमान प्रतिबद्धता, नेपालको लागि दिगो विकासको एजेण्डा एवं सहस्राब्दी विकासका लक्ष्यहरू समेतको पृष्ठभूमिमा दीर्घकालीन कृषि योजनाका मूलभूत पक्षलाई कायम राखी नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गरी लागू गर्न आवश्यक देखिएकोले नेपाल सरकारले यो राष्ट्रिय कृषि नीति २०६१ जारी गरेको छ । यस क्षेत्रमा तर्जुमा भएका र नयाँ तर्जुमा हुने वस्तुगत तथा विषयगत नीतिहरू यसै नीतिबाट निर्देशित हुने छन् ।